विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघ्यो


 


काठमाडाैँ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघेको छ ।आइतबार ४ हजार ९ सय बढीको ज्यान गएसँगै विश्वभर मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघेको हो ।

कोरोनाबाट सबैभन्दा अमेरिकामा ४० हजार ५ सयको ज्यान गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १ हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।

त्यस्तै, हालसम्म इटालीमा २३ हजार ६ सय, स्पेनमा झण्डै साढे २० हजार, फ्रान्समा १९ हजार ७ सय, बेलायतमा १६ हजार, बेल्जियममा साढे ५ हजार, इरानमा ५ हजार, जर्मनी, चीनमा समान साढे ४ हजार संक्रमितको मृत्यु भएको छ ।

गत डिसेम्बर चीनको वुहान शहरमा देखिएको कोरोनाबाट हालसम्म २४ लाख ६ हजार बढी संक्रमित भइसकेका छन् । जसमध्ये ६ लाख २४ हजार व्यक्ति भने उपचारपछि निको भएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्