जनकपुरमा यसरी फैलियो नोट छरेर भागेको अफवाह


 


जनकपुरधाम, बैशाख ८
जनकपुरस्थित महावीर चोकमा नोट छरेर भागेको आरोपमा पक्राउ परेका दुवै महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जानकी नगरबाट पक्राउ परेका महिलामध्ये एक जनाको आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि साँझ स्वाव संकलन गरी पिसिआर प्रविधिमार्फत परीक्षण गर्दा दुबैमा नेगेटिभ रिपोर्ट देखिएको हो ।

समाजिक विकास मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमार्फत दुबै जनामध्ये एकको रिपोर्ट आरडीटी पोजिटिभ देखिए पनि पिसिआरमा नेगेटिभ आएको पुष्टि गरेको हो । महिलामा आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि जनकपुरमा त्रास फैलिएको थियो । उनीहरु बस्ने जानकी नगर टोललाई शनिबार रातिदेखि नै सेनिटाइज गरिएको थियो ।

नोट छरेर भागेको अफवाह मात्र
शुक्रबार दिउँसो जनकपुरधाम उप–महानगरपालिका ६ महावीर चोकमा १० र २० तथा १०० रुपैयाँको केही नोट छरिएको अवस्थामा भेटियो । स्थानीयका अनुसार मुस्लिम समुदायको पहिरनमा रहेका महिलाको शरीरबाट पैसा झरेको भनी समाजिक सञ्जालमा छयाप्छयाप्ती भयो । केही नोट छरिएरको देख्नासाथ स्थानीयले भारतको विभिन्न ठाउँमा पैसामा थुक लगाएर फालेको भारतीय सञ्चार माध्यममा आएका घटनासँग उक्त घटनालाई जोडे ।

मुस्लिम समुदायका केही मानिसले कोरोना भाइरस फैलाउन षडयन्त्र रचेको भन्दै एक–अर्कालाई थरीथरीका कुरा सुनाउन थाले । केहीले ती कुराहरु समाजिक संजाल फेसबुकमा समेत तुरन्त लेख्न थाले र फुर्सदमै बसेका आफन्त, परिवार र इष्टमित्रलाई समेत बताउन थाले । यसरी कोरोना संक्रमण फैलाउन नोटमा थुक लगाएको नोट छरेर भागेको भन्दै जनकपुरमा हल्ला–खल्ला मच्चियो ।

त्यसलगतै समाजिक संजालको भित्तामा अनेकौ टिकाटिप्पणीले पनि सुरु भयो । विभिन्न संचारमाध्यममा समेत दुबै महिला नोट छरेर भागेको समाचार प्रकाशन र प्रशारण भएपछि गाउँ गाउँमा समेत त्रास फैलियो । अझ समाजिक सञ्जालमा हिन्दुत्व र मुस्लिमको सद्भाव बिग्रने खालको पोष्टसमेत देखिन थाल्यो ।

नोट छरेर भागेको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले कोरोना समबन्धी शंकास्पद भुँइमा छरिएर रहेको नोटको चारैतिर गोलो घेरा लगाएर ठाउँ सुरक्षित राखे । त्यसपछि ती सबै नोट संकलन गरी कोरोना परीक्षणका लागि भन्दै प्रहरीले प्रादेशिक अस्पताल जनकपुरमा पठायो । प्रहरीले सोही समयमा पैसा झरेको ठाउँलाई सेनिटाइज समेत गर्‍यो । सिसिटिभी फुटेजको आधारमा दुबै महिलाको तस्बिर सार्वजनिक गरी हुलिया खुलायो । देख्नासाथ प्रहरीलाई जानकारी गराउन समाजिक संजालमार्फत सूचना जारी गर्यो ।

सूचना जारी भएको १२ घण्टाभित्रमा महिलाको पहिचान भयो । प्रहरीले उनीहरुको घरमै पुगेर समान्य सोधपुछ गरेर निगरानीमा राखे । शनिबार बिहान प्रहरीले कोरोना संक्रमणको आशंकामा दुबै महिलालाई प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षणका लागि पठायो । प्रादेशिक अस्पतालमा दुबैजनाको आरडीटी परीक्षण भयो ।

आरडीटी परीक्षणमा दुई महिलामध्ये एकजनामा कोरोना पोजेटिभ देखियो । त्यसपछि दुबै महिलालाई कोरोना संक्रमण रहेको वा नरहेको पुष्टि गर्न पिसिआर प्रविधिबाट जाँचका लागि शनिबार साँझ करिब ७ बजे स्वाब संकलन गरियो । आरडीटी परीक्षणमा एकजनाको पोजेटिभ रिपोर्ट देखिएपछि ती महिलामाथि झनै शंका बढ्यो । पिसिआर परीक्षणका लागि स्वाब संकलन गरियो । अन्त्यमा दुवै महिलाको रिपोर्ट नेगेटिभ आयो ।

‘प्रहरीलाई देखेर भाग्न खोज्दा पैसा झर्‍यो’
जनकपुरधाम उपमहानगरपालिका–७ जानकी नगरकी अलिना खातुन र उनकी नन्द अमुना खातुन दुबैजना गृहणी हुन् । शुक्रबार बिहान करिब साढे १० बजे नन्द र भाउजूले मुरलीचोक स्थित सहयोगी विकास बैँकबाट १ लाख रुपैयाँ झिकेको प्रहरीको अनुसन्धानबाट खुल्यो । ‘बैँकबाट झिकेको एक हजार खुद्रा बाट १ सय ६० रुपैयाँ बाटोमै झर्यो । उनीहरुले पैसा झरेको थाहा पाएनन् र सरासर घरतिर हिँडे,’ प्रहरीले भने, ‘गाउँमा पैसा छरेर भागेको खबर फैलिएपछि डरले उनीहरु केही बोलेनन् ।’

प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले भने, ‘बैँकबाट फर्किने क्रममा पैसा झरेको कुरा आएको छ, लकडाउनमा उनीहरु घरबाहिर निस्किएका छैनन्, कतै गएनन् घरमै बसेकाले फरार भएको हल्ला फैलियो ।’ सिसिटीभी फुटेजमा समेत महिलाले कतै नोट छरेको नदेखिएको प्रहरी नायव उपरीक्षक कार्कीले जनाए । पक्राउ परेकी अमुना अलिनाकी नन्द भाउजू दुवैलाई परीक्षणपश्चात घर फर्काइएको छ । अन्नपुर्ण पाेष्ट

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्