मस्जिदमा लुकेर बसेका जमातीबारे खबर दिंदा स्थानीयमाथि हमला


 


पर्सा, बैशाख ७
पर्साको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा रहेको मस्जिदमा केही जमातीहरू आएर बसेको सूचना प्रहरीलाई दिंदा शनिबार बेलुकी दुई पक्षबीच झडप भएको छ ।

स्थानीयहरूले दिएको जानकारी अनुसार वडासदस्य फकरुद्धिन अहमद देवानको नेतृत्वमा मौजेटोलमा रहेको मस्जिदबाट शनिबार बेलुकी केही व्यक्तिले स्थानीयहरूको घरमा ढुङगा, इँटा प्रहार गरेपछि त्यही विषयलाई लिएर झडप भएको हो ।मस्जिदमा बाहिरका जमाती ल्याएर राखिएको भन्दै स्थानीय हिन्दूहरूले प्रहरीलाई खबर गरे पछि मस्जिदबाट र मस्जिद छेउछाउमा रहेका मुस्लिमहरूको घरबाट सबै जना निस्केर ढुङगा, इँटा हान्न थालेपछि स्थानीयले प्रतिवाद गर्दा झडप हुन पुगेको वडा अध्यक्ष रवि गुप्ताले बताए ।

मौजेटोलमा मुस्लिम र हिन्दू पक्षबीच भएको झडपमा दुवै पक्षका गरी कम्तीमा १५ जना भन्दाबढी घाइते भएका छन् । जस मध्ये ८ जनाको अवस्था गम्भीर भएकोले घाइते हुनेहरूलाई बीरगंजको विभिन्न अस्पतालहरूमा भर्ना गराइएको छ। घाइतेहरू फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट र बडिया राय भाट, चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी छन्।

झडपमा घाइते भइ नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले भने ‘मस्जिदमा केहिदिन देखि बस्दै आएका बाहिरका जमातीलाई नराखौ भनेर आफूहरु जाँदा ढुङगाले हान्न थालिएपछि झडप भएको हो।’झडपको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा आएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्