अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार नाघ्यो


 


एजेन्सी, बैशाख ७
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शनिबार १८ सय ६७ जनाको मृत्यु भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ३९ हजार नाघेको हो । अमेरिकामा संक्रमितको संख्या ७ लाख ३८ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २९ हजार संक्रमित थपिएका छन् । अमेरिकामा सबैभन्दा बढी न्यूयोर्क राज्य कोरोनाबाट प्रभावित भएको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ४१ हजार नाघ्दा ७ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

अमेरिकामा आइतबार बिहानसम्म ६८ हजार संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यहाँ ६ लाख ३१ हजार व्यक्तिको उपचार जारी छ । जसमध्ये साढे १३ हजार संक्रमितको अवस्था गम्भीर रहेको वर्ल्र्डोमीटरले जनाएको छ ।

अमेरिकामा हालसम्म ३७ लाख २२ हजार बढीको कोरोना परीक्षण गरिसकिएको छ । विश्वका २ सय १० देशमा फैलिएको कोरोनाबाट आज बिहानसम्म संक्रमितको संख्या २३ लाख ३० हजार नाघेको छ । जसमध्ये १ लाख ६० हजार बढीको मृत्यु हुँदा ५ लाख ९६ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्