थप ३० दिनका लागि अमेरिका–क्यानडा सिमाना बन्द
काठमाडौं, बैशाख ७
क्यानडाले अमेरिकासँग जोडिएको आफ्नो सिमाना थप ३० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । यसबीचमा अत्यावश्यक बाहेकका काममा आउजाउ गर्न पाइने छैन ।
कोरोना भाइरसको महामारीका कारण पहिल्यैदेखि अत्यावश्यक बाहेकका काममा यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध आउँदो मंगलबार सकिँदै थियो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुवैतर्फका नागरिकलाई सुरक्षित राख्न सिमाना बन्द गर्नु अत्यावश्यक भएको बताएका छन् ।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार क्यानडामा ३४ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ सय जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार