कालोबजारी गर्ने सुलभलाई छुटाउन यस्ताे ‘सेटिङ’


 


काठमाडौं, बैशाख ७
कोरोना संक्रमणले मानव जीवनमाथि गम्भीर संकट उत्पन्न भइरहेका बेला टाढैबाट तापक्रम नाप्ने उपकरण ‘थर्मल गन’ को कालोबजारी गर्दागर्दै रङ्गेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवाललाई कारबाहीबाट जोगाउन ‘सेटिङ’ मिलाउँदै गरेको जानकारी प्राप्त भएको छ ।

उच्च स्रोतले दिएको जानकारीअनुसार वैशाख ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडांैबाट आफूलाई न्यून धरौटी रकममा छुटाउनका निम्ति अग्रवालले सेटिङ मिलाइरहेका छन् ।

थर्मल गनको कालोबजारी गर्दैगर्दा प्रहरीको ‘स्टिङ अप्रेसन’ मा रङ्गे समातिएका उनी अहिले महानगरीय प्रहरी परिसरको हिरासतमा छन् । उनलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडांैंले दिएको अनुमतिको म्याद आइतबार अर्थात वैशाख ७ गते सकिँदैछ ।

सोही दिन न्यून रकम धरौटी बुझाएर छुट्नका निम्ति अग्रवालले ‘साम, दाम, दण्ड, भेद’ को नीति अख्तियार गर्दै सेटिङ मिलाएको स्रोतले बतायो ।कारबाहीबाट जोगिनका निम्ति शुरूदेखि नै कानुनको लुप्त प्वाल प्रयोग गर्न अग्रवाल सफल भएका थिए । प्रहरीलाई प्रलोभन र दबाबमार्फत मुद्दालाई कमजोर बनाउन केही हदसम्म सफल भएका अग्रवाल अहिले सजाय कम गराउन आर्थिक चलखेलका साथै राजनीतिक दबाब र ‘इमोस्नल ब्ल्याकमेलिङ’ गर्दै आएको अनुसन्धानमा संलग्न अधिकारीलाई उदृत गर्दै स्रोतले बतायो ।

स्रोतले भन्यो–‘उनी अहिले प्रहरी अधिकारीहरुसँग म अर्बपति मान्छे १० हजार रुपियाँमा लोभिएँ, पहिलोपटकमा नै फसेँ, म मद्यपान धुम्रपानसमेत नगर्ने साकाहारी व्यक्ति दशा लागेर फसेँ, एकपटकलाई कारबाहीबाट जोगाउनुप¥यो भन्दै अनुसन्धान अधिकारीसँग इमोस्नल ब्ल्याकमेलिङ गर्ने, नभए, आर्थिक प्रलोभन देखाउने, राजनीतिक दबाबसमेत दिने काममा लागेका छन् ।’

अग्रवालले यो रणनीति जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि प्रयोग गरिरहेको स्रोतको भनाइ छ । ‘अफिसियल्ली नभए पनि उद्योगी व्यवसायीका केही नेता अग्रवाललाई जोगाउन स्पष्टसँगै लागेका छन्’ स्रोतले नेपाल समाचारपत्रलाई बतायो । उद्योगी व्यवसायीका नेताले अग्रवाल खराब मान्छे नभएको भन्दै सरकारलाई गुमराहमा पार्ने प्रयाससमेत गर्दैआएको बताइएको छ ।

तर, अग्रवाल यसअघि नै पटक–पटक विवादमा पर्दै आएका व्यक्ति हुन् । स्रोतले भन्यो–‘नक्कली भ्याट बिल काण्डमा मुछिएका कारण सरकारले प्रदान गर्ने सीआईपी सम्मान रोक्ने स्थिति सिर्जना भएको थियो । साथै विद्युत्को डेडिकेटेड फिडर काण्डलाई समेत ढाकछोप गरेर परिबन्दमा प¥यो ‘विचरा’, भन्ने अवस्था सिर्जना गराउन लागिपरेका छन् ।’ नेपाल विद्युत प्राधिकरणका अनुसार शंकर ग्रुपले डेडिकेटेड फिडर लाइनको अढाई अरब रुपियाँ तिर्न बाँकी छ ।

‘अग्रवालको उद्योग जगदम्बा स्टिलले कमसल कच्चा पदार्थ प्रयोग गरेर गुणस्तरहीन छड उत्पादन गर्ने गरेको घटना विगतमा विभिन्न सञ्चारमाध्यममा भिडियो र सप्रमाण प्रकाशित प्रशारित समाचारलाई पनि यतिबेला लुकाएर अग्रवालको ‘अवोध अनुहार’मात्रै प्रस्तुत हुँदै आएको छ ।’ स्रोतले भन्यो ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा २० हजार थान थर्मल गन अग्रवालले भित्र्याएको भनेर प्रहरीले नै तथ्य सार्वजनिक गरेको थियो । अग्रवाल पक्राउपछि भने १२ सय वटाको मात्रै लगत देखाएको छ ।

त्यस्तै कारबाहीको निम्ति अदालती प्रक्रियाबाट नगएर जिल्ला प्रशासन कार्यालयमार्फत् गएपछि अग्रवाललाई कम सजाय गराउने खेलको पर्दाफास भइसकेको छ । अदालती प्रक्रियाबाट कारबाही अगाडि बढाए पाँच वर्षसम्म कैद र जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही अगाडि बढाए बढीमा एक वर्षसम्म सजाय हुनसक्ने भएकाले अग्रवाललाई सहुलियत दिलाउन जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको थियो ।

सुवास अग्रवालका नाममा कालोबजारीको धन्दा गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरीले ‘स्टिङ अप्रेसन’ गरेको थियो । उनी पक्राउ परेपछि मात्रै नेपाल उद्योग परिसंघका उपाध्यक्ष, शंकर ग्रुप एवम् जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल नामक ‘हाई प्रोफाइल’ व्यवसायी भएको रहस्य खुलेको थियो ।

उपभोक्ताकर्मीहरू भन्छन्–‘अग्रवालमाथि नाममात्रैको कारबाही तथा धरौटीमा छुटे भने यो कानुनमाथिको भद्दा मजाक अर्को हुन सक्दैन । नेपालमा पैसाले जे पनि खरिद गर्न सकिन्छ भन्ने सबैभन्दा गतिलो उदाहरण यो हुन सक्छ । प्रहरीले ठूलो मेहनतका साथै स्टिङ अप्रेसनबाट पक्राउ गरेको कालोबजारीया जस्ले प्रहरी भ्यानसमेत तोडफोड गरेको छ, प्रहरीलाई धम्की दिएको छ, उसलाई छुटाउन नेपाल उद्योग परिसंघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुको सक्रियता हुनु दुखद् हो ।’

अग्रवाल प्रकरणपछि सरकारले अवैतनिक महावाणिज्यदूतहरूको निलो नम्बर प्लेटलगायतका सुविधा खोसेपछि धेरै व्यापारीहरु सुलभसँग रुष्ट भएका छन् । सुलभले कन्सुलेट जनरलहरु सबैको बद्नाम गरेको उनीहरुको टिप्पणी छ । नेपाल समाचारपत्र

प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्