त्याे र याे देश


 


नरेश बाँस्काेटा
उहिले दुरदर्शी पुर्खाहरुले सम्हालेको देश
अहिले इतिहास मै मात्र गर्व गर्ने यो देश!

घुस लिन्या र दिन्या दुबै रास्ट्रका शत्रु हुने देश!
अहिले घुस बिना बिसको उन्नाइस नहुने देश!
बिपत्तिमा कालोबजारी गर्नेलाई
५ जना साक्षी राखी छ्प्काइदिनु भन्ने देश!
अहिले कालोबजारी, तस्कर, र माफियाहरुलाइ नै,
सांसद र मन्त्री बनाउने देश!

कति लाचार भयौ हेर,
“आयो गोर्खाली” भन्दै एउटा खुकुरीले
बिश्व थुरुरु पार्ने त्यो देश,
अहिले त ती सब सपना भए,
अब त रक्षाकवचलाई बेल्चा थमाइ
ठेकेदार बनाउने यो देश!
सरकारको इज्जत जोगाउन,
सीमारक्षकलाई व्यापारी बनाउने यो देश!

धर्म संस्कृति रीतिरिवाज कला साहित्य,संस्कार,
मठ मन्दिरहरुले अपार धनी त्यो देश !
लाज धर्म पाप पुन्य,
एकादेशको कथा भैसकेको यो देश!
लाखौं युवा खाडीमा बेचेको पैसामा,
सिंहदरबारमा शासक रमाउने यो देश!
ए नेपाली हो, अझै कति सहन्छौ?
अत्ति भएन र अब,
हत्यारा, बलात्कारी, भ्रष्टाचारी, गुण्डाहरुलाइ
मानननिय, सम्माननिय, महामहिमका
बिल्लाहरु टाँस्ने यो देश!
बाघका सन्तति माथी,
ब्वासाहरुले शासन गरिरहेको यो देश!


प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्