उदयपुरमा काेराेना संक्रमित भेटिएका मस्जिद क्षेत्र सिल, सुरक्षाकर्मी परिचालन


 


गाईघाट, बैशाख ६
उदयपुरमा काेराेना संक्रमित भेटिएका मस्जिद क्षेत्र सिल गरिएकाे छ। त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा रहेका भारतीय नागरिकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचलान गरी सिल गरिएकाे हाे। सो क्षेत्रमा कसैलाई बाहिर आवत–जावत गर्न दिएको छैन।

उक्त क्षेत्रमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरबाट एक हजार ¥यापिड टेस्ट किटसहित टोली शनिबार पठाउने तयारी गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताएका छन् । सो क्षेत्रमा संक्रमण फेला परेका व्यक्तिलाई विराटनगरस्थित कोभिड १९ डेडिकेटेड अस्पतालका रुपमा रहेको कोशी अञ्चल अस्पतालमा हिजै पठाइएको थियो । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको ।

कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राका अनुसार चिकित्सकीय निगरानीमा रहेका उनीहरुमा कुनै लक्षण देखिएको छैन । उनले उनीहरुमा अहिले स्वास फेर्नदेखि रुघाखोकीसम्म समस्या नरहेको बताइन् । संक्रमित १२ जनाले आफूहरुलाई कुनै समस्या नरहेको बताएकाले सामान्य (न्यूनतम) औषधी चलाउन बाहेकको काम गरिएको अस्पतालले जनाएको छ । भुल्केस्थित मस्जिद आसपासको क्षेत्रमा करीब ६ सयको हाराहारीमा मुसलमान समुदायको बासोबास छ ।

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्