अमेरिकामा काेराेनाले एकै दिन २५ सय बढीको मृत्यु, संक्रमितको संख्या ७ लाख नाघ्यो


 


एजेन्सी, बैशाख ६
अमेरिकामा भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या तीव्ररुपमा बढिरहेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । शुक्रबार साढे ३१ हजार थपिएसँगै त्यहाँ संक्रमितको संख्या ७ लाख नाघेको हो ।

वर्ल्डोमीटरका अनुसार पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २ हजार ५ सय १६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमणबाट ३७ हजार १ सयले ज्यान गुमाएका छन् ।

हालसम्म त्यहाँ ६० हजार संक्रमित निको हुँदा ६ लाख १२ हजारको उपचार जारी छ । अमेरिकामा ३५ लाख ७२ हजार बढीमा कोरोना परीक्षण गरिसकिएको छ । कोरोनाबाट अमेरिकाको न्यू योर्क राज्य सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ ३ लाख ३४ हजार व्यक्ति संक्रमित हुँदा १७ हजार बढीले ज्यान गुमाएका छन् ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाबाट विश्वका २१० देश प्रभावित भइसकेका छन् । शनिबार बिहानसम्म २२ लाख ४८ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये १ लाख ५४ हजार व्यक्तिको मृत्यु भएको छ भने ५ लाख ७१ हजार संक्रमित उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्