प्रहरी ज्यादतीविरुद्ध मानवअधिकार आयोग


 


काठमाडौं, बैशाख ६
लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले चिकित्सक र सर्वसाधारणमाथि कुटपिट र दुव्र्यवहार गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आयन्दा यस्ता कार्य नदोहोर्‍याउन सचेत गराएको छ। प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.शम्भु खनाल, डा.तेजप्रकाश रौनियार र डा.विकास शाहलाई ड्युटी सकेर घर फर्कने क्रममा कुटपिट तथा दुव्र्यवहार गरेको भन्दै आयोगले शुक्रबार सचेत गराएको हो।

कुटपिटको घटनालाई लिएर नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधिसम्मिलित आयोगको केन्द्रस्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले संयुक्त रुपमा प्रारम्भिक अनुगमन गरेको थियो। ‘अनुगमनबाट प्राप्त तथ्यअनुसार चिकित्सकहरूले आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै त्यसको कुनै वास्ता नगरी प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरेको र कुटपिटबाट डा. तेजप्रकाश रौनियारलाई चोट लागेको पाइएको छ’, आयोगका सचिव वेद भट्टराईद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।

लकडाउनको अवस्थामा सरकारले जारी गरेका निर्देशनहरूको पालना गर्दा/गराउँदा स्वास्थ्यकर्मी, पत्रकार, अधिकारकर्मी तथा सर्वसाधारणप्रति संयमित र मर्यादित व्यवहार गर्नसमेत आयोगले ध्यानाकर्षण गरेको छ। यस्तै सुनसरीमा बिरामीको उपचार गर्न हिँडेका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको, काठमाडौंको कलंकीमा औषधि किनेर फर्किएका व्यक्तिलाई कुटपिट गरी दुव्र्यवहार गरेको, सप्तरीमा सशस्त्र प्रहरीले सर्वसाधारणमाथि अमानवीय ढंगले कुटपीट गरेको तथा बैतडी, दार्चुलालगायतमा समेत प्रहरीले सर्वसाधारणमाथि दुव्र्यवहार गरेको अनुगमनबाट पाइएको आयोगले जनाएको छ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीहरूमाथि भएका कुटपिट तथा दुव्र्यवहारले जनस्वास्थ्यको हालको संकटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरूको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने आयोगले जनाएको छ।

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्