‘कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्‍याउ’


 


काठमाडौं, बैशाख ५
प्रधानमन्त्री केपी शर्मा ओलीले आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । उनले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका हुन् ।

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए । छलफलकाे क्रममा प्रधानमन्त्रीले यदि कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न भनेका छन् ।

बैठकमा कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्‍याउने वा यहीँ रोक्ने विकल्प पेश गरेको थियो । तर प्रधानमन्त्रीले यसमा उदारता देखाउन नहुने बताए । ‘आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ । यदि खान नपाएरै जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्नू ।’

उनले यसका लागि स्थानीय तहहरुसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदहरुको सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्