चितवनमा दुई जनामा कोरोना आशंका, थप पुष्टिका लागि काठमाडौं पठाइयो


 


चितवन, बैशाख ५
चितवनमा स्वाब परीक्षण गरिएका दुई जनामा कोरोना आशंका गरिएको छ । भरतपुर १० स्थित वाईपास रोडमा रहेको कोभिड १९ प्रयोगशालामा स्वाब परीक्षणका क्रममा दुई जनामा कोरोना शंकास्पद देखिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

दुवै जनाको पुनः स्वाब परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको उनले बताए । बिहीबार ३६ जनाको परीक्षण गरिएकोमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको थियो । ती मध्ये ३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको र राप्ति नगरपालिका निवासी दुई जनामा कोरोना शंकास्पद देखिएको पौडेलले बताए ।

उनीहरूलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरू विदेशबाट फर्किएको बताइएको छ । ती मध्ये राप्ती नगरपालिका निवासी एक महिलाको बुधबार गरिएको र्यापिड टेस्टमा शंकास्पद देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले बताए ।

यसअघि पूर्वी चितवनको रत्ननगरमा रहेको गुञ्जमान सिंह हस्पिटलमा बुधबार गरिएको र्यापिड परीक्षणमा एक जना युवामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको थियो । पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा ती युवासहित २८ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । चितवनमा गत २४ चैतदेखि औपचारिक रुपमा कोरोना परीक्षण सुरु भएको भए पनि अहिलेसम्म कसैमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले पुष्टि गरेको छैन ।

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्