‘प्रधानमन्त्रीको भारत भ्रमण अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास’


 


kp-oli

भक्तपुर, असोज ३  नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास गरेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा युवा सङ्घ नेपाल २ नं क्षेत्रीय कमिटी भक्तपुरले आज थिमिमा आयोजना गरेको शुभकामना एवम् कार्यकर्ता भेलामा पूर्वप्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मामलामा भारतको पछि लाग्छौँ भन्नु गलत भएको बताउनुभयो ।

जनताका लागि नभई छिमेकी मुलुकलाई खुसी पार्न संविधान संशोधन गर्ने कार्य कदापि नहुने जिकिर गर्दै उहाँले संविधान कार्यान्वयन गर्ने अघिल्लो सरकारको कार्यतालिका कहाँ गयो भनी प्रश्न गर्नुभयो । संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र भइरहेकामा खबरदारी गर्दै ओलीले भन्नुभयो – “९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत हो, छिमेकीले अह्राएका चार जनालाई संविधान मन परेन भन्दैमा संविधान संशोधन हुँदैन ।”

नेता ओलीले बाहिरबाट आएकाहरुलाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउन संविधान संशोधन हुन नसक्ने जिकिर गर्दै भन्नुभयो – “भारतले अरु देशबाट भित्रिएका बुहारीलाई नमान्ने तर नेपालमा भने उताबाट आएकालाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउने काम हुन सक्र्दैन ।”

अहिले नेपाली काँग्रेस सिद्धान्त र विचारबाट पलायन भएको आरोप लगाउँदै ओलीले बिपी बाबुको नाम भजाउँदै देश बिगार्ने खेलमा लाग्नुभन्दा देश जोगाउन काँग्रेसलाई सल्लाह दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेल, पूर्वउद्योगमन्त्री महेश बस्नेत, सांसद केदार सञ्जेल, एमाले केन्द्रीय सदस्य नीरु पाल, युवा सङ्घका केन्द्रीय अध्यक्ष राजीव पहारी र उपाध्यक्ष रमेश पौडेल, युवा सङ्घ नेपाल २ नं क्षेत्रीय कमिटी भक्तपुरका अध्यक्ष रवि श्रेष्ठलगायतले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भए एमालेले आन्दोलन छेड्ने चेतावनी दिनुभयो ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्