ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त


 


काठमाडौं, बैशाख ५
ब्राजिलका स्वास्थ्यमन्त्रीलाई बर्खास्त भएका छन् । कोरोना भाइरस संक्रमण रोक्ने मुद्दामा विवाद भइरहेको बेला ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई पदबाट हटाएका हुन् ।

कोरोना संक्रमण फैलिन नदिने उपायबारे स्वास्थ्यमन्त्री मनडेटाले एक टेलिभिजन कार्यक्रममा सरकार एकजुट भएर यो संकट समाधान गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति खुल्लारुपमा राष्ट्रपतिको आलोचना गरेको ठानिएको छ । पछिल्लाे समय दुवै जनाबीच मदभेदका अधिकांश घटना भइरहेकाे थियाे।

स्वास्थ्यमन्त्री हेनरिक मनडेटाले कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम राख्नुपर्ने लगायतका नियमको पालना गर्नुपर्ने बताउँदै आएका छन् । उनले आ–आफ्ना प्रदेशमा लकडाउन गरेको भन्दै गभर्नरहरुको प्रशंसा पनि गरेका छन् ।

तर ब्राजिलका राष्ट्रपति भने यी कुराहरुबाट सहमत छैनन् । लकडाउन, सामाजिक दुरी लगायतका गतिविधिले जनतामा त्रास फैलिने भएकाले यी सब गर्न नहुने उनको भनाइ छ । उनको भनाइअनुसार मानिसहरुलाई विना डर त्रास आफ्नो नियमित काम गर्न दिनुपर्छ ।

यसअघि नै बोलसोनारोले कोरोना भाइरसलाई ‘सामान्य फ्लु’ भन्दै आत्तिनु नपर्ने बताएका थिए । हेनरिकले आफू बर्खास्त भएको कुरा आफैंले ट्वीट गरेर जानकारी दिएका छन् । साथै उनले लेखेका छन्– कोरोनाबाट हाम्रो स्वास्थ्य सेवामा भयंकर चुनौती आएको छ । समय छँदै उपाय लगाइएन भने स्वास्थ्य व्यवस्था धरमराउने छ ।

राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेको समाचार सार्वजनिक भएपछि ब्राजिलका नागरिकहरुले घरका बार्दलीबाट भाँडा बजाउँदै राष्ट्रपतिको बिरोध जनाएको बीबीसीले जनाएको छ । ब्राजिलमा ३० हजार ४ सय २५ जना कोरोना संक्रमित छन् भने १ हजार ९ सय २४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्