अमेरिकामा एकैदिन २ हजारको बढीको मृत्यु, २९ हजार संक्रमित थपिए


 


काठमाडाैँ, बैशाख ५
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । वर्ल्डओमीटरका अनुसार गएको २४ घण्टामा मात्र त्यहाँ २९ हजार नयाँ संक्रमित थपिँदा २ हजार १२३ जनाले ज्यान गुमाएका छन् ।

योसँगै अमेरिकामा संक्रमितको संख्या ६ लाख ७७ हजार नाघेको छ । जसमध्ये ३४ हजार ५ सयको मृत्यु हुँदा ५७ हजार २ सय संक्रमित उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा बेलायतमा ८६१, फ्रान्समा ७५३, इटालीमा ५२५, स्पेनमा ५०३, बेल्जियममा ७१७, जर्मनीमा २४८, ब्राजिलमा १९०, क्यानाडा, नेदरल्याण्ड्समा समान १८१ र स्वीडेनमा १३० जनाको मृत्यु भएको छ ।

अन्य देशमा भने बिहीबार १ हजार भन्दा कमको संख्यामा मृत्यु भएको छ गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वमा २ पानीजहाजका साथै २१० देश प्रभावित भइसकेका छन् ।

शुक्रबार बिहानसम्म संक्रमितको संख्या २१ लाख ८० हजार नाघेको छ । जसमध्ये १ लाख ४५ हजार बढीको मृत्यु हुँदा ५ लाख ५६ हजार उपचारपछि घर फर्किसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतका विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्