सीडीओलाई मुख्यमन्त्रीको निर्देशन : सवारी पासका लागि राष्ट्रपतिको फोन आए मलाई दिनू


 


पोखरा, बैशाख ५
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउनका बेला सवारी पासका लागि राष्ट्रपति लगायत उच्चपदस्थबाट सिफारिस आए पनि कसैलाई सहुलियत नदिन प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिएका छन्। उनले बिहीबार कास्कीसहित जिल्लाका प्रजिअलाई उक्त निर्देशन दिएका हुन्।

पोखराबाट बाहिर जिल्ला जान जिल्ला प्रशासन कार्यालयबाट पास लिन घुइँचो लाग्न थालेको जानकारी मुख्यमन्त्रीलाई कास्कीका प्रजिअ ज्ञानप्रसाद ढकालले गराएका थिए। तर मुख्यमन्त्री गुरुङले भने आफ्ना मन्त्री, सांसद, गाउँपालिका प्रमुख/उपप्रमुख र नेताहरुलाई पासको सिफारिसका लागि दबाबद नदिन आग्रह गरेका छन्। दिनभरका गतिविधिबारे जानकारी गराउन फेसबुक लाइभमा आएका मुख्यमन्त्री गुरुङले बिहीबार साँझ भने, ‘लकडाउन पालना नगरी कोरोनाविरुद्धको युद्ध जितिँदैन, कसैलाई पनि सहुलियत दिनुहुँदैन।’

मुख्यमन्त्रीले मान्छे बितेर शव बोक्नै जानुपरे वा किरिया गर्न जानुपरेमात्रै पास दिन निर्देशन दिएका थिए। ‘पास दिनू भनेर राष्ट्रपतिको फोन आयो, प्रधानमन्त्रीको फोन आयो भने मलाई दिनु भनेको छु’, उनले सीडीओलाई दिएको निर्देशनबारे अन्नपूर्णलाई सुनाए। उनले प्रत्येक दिन गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रजिअसँग कोरोना रोकथामका दैनिक गतिविधिबारे जानकारी लिने गरेका छन्। बिहीबार ४ जिल्लाका सीडीओसँग उनले कुराकानी गरेका थिए। बुधबार सबै ११ जिल्लाका सीडीओसँग भिडिओ कुराकानी गरेका थिए।

कास्की वा कुनै जिल्लाबाट बाहिर जान चाहने मजदुर लगायत कसैलाई पनि जाने अनुमति दिन नहुने बरु उनीहरुलाई खाद्यान्न लगायत राहत बसेकै ठाउँमा पुर्‍याउनुपर्ने मुख्यमन्त्रीले बताएका छन्। ‘हामीले लकडाउन सफल बनाउने हो भने मान्छे मर्दा खेरि घाटमै जानुपर्ने, किरियामा जानुपर्नेबाहेकलाई सवारी पास दिनुहुँदैन’, उनले आफ्नो फेसबुक पेजको लाइभमा भने, ‘लकडाउन सफल नबनाउने भनेको रोगलाई निम्त्याउने हो, मृत्युलाई निम्त्याउने हो। गण्डकी प्रदेशका मन्त्रीहरु, अरु प्रदेशका मन्त्रीहरु प्रदेश सांसदहरु, सांसदहरु, गाउँनगरका प्रमुख उपप्रमुखहरु, नेताहरु कसैले पनि दबाब नदिनुहोला। प्रत्येक जिल्लाका सीडीओलाई भनेको छु, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख या राष्ट्रिय सभा अध्यक्ष कार्यालयबाट फोन आयो भने मलाई जानकारी गराउनुहोला, म उहाँहरुलाई यहाँको परिस्थितिबारे जानकारी गराउँछु।’

क्वारेन्टाइनमा बस्नेलाई पनि बिहान दिउँसो र बेलुका खानको व्यवस्था प्रदेश सरकारले गरेको जानकारी मुख्यमन्त्रीले दिए। उनले जिल्लामा जान चाहनेलाई अहिले भइरहेकै ठाउँमा बस्न आग्रह गरेका छन्। ‘पालिकाले वितरण गरेको राहतमा समेटिनु भएको छैन भने सम्पर्क गर्नुहोला, सम्बन्धित पालिकाबाट उपलब्ध गराउन प्रयत्न गर्छौं, भएन भने प्रमुख जिल्ला अधिकारीमार्फत पनि उपलब्ध गराउने व्यवस्था गर्छौँ उनले भने, ‘खाद्यान्नको अभावले कुनै मजदुर या अरु आफ्नो जिल्ला जान खोज्नुभएको छ भने त्यहीं राखेर खाद्यान्न उपलब्ध गराउन सीडीओ साबलाई निर्देशन पनि दिएको छु।’ अन्नपुर्ण पाेष्ट

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्