कोरोना अपडेट: १९ हजार बढीकाे नमुना परीक्षण, ८ जिल्लामा मात्र आरडीटी परीक्षण बाँकी


 


काठमाडौं, बैशाख ४
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल १९ हजार ४ सय ३२ वटा नमुना परीक्षण भएको जनाएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आठ जिल्लामा मात्र आरडीटी परीक्षण हुन बाँकी रहेको जानकारी दिए ।

अहिलेसम्म क्वारेन्टाइनमा एक सय ३ जना रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ सय ६९ जना र आरडीटी विधिबाट तीन हजार ३ सय ४३ जनाको नमुना परीक्षण भएको छ । २४ घण्टामा कसैमा कोरोना पोजिटिभ देखिएको छैन ।

आरडीटी परीक्षण ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुमपूर्व र डोल्पा बाँकी रहेको देवकोटाले बताए । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट सात हजार दुई सय ४० जनाको र आरडीटीबाट १२ हजार एक सय ९२ गरी कुल १९ हजार ४ सय ३२ वटा नमुना परीक्षण भएका छन् ।

नेपालमा संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन् । अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। पाँचजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ भने चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइराखेको छ।

अन्य ६ जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुईदुई जनाको उपचार हुँदैछ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्