‘अमेरिका बन्द गर्दा धेरैको ज्यान गयो, आजै निर्देशिका जारी गरेर छिट्टै खुलाउँछौं’


 


अमेरिका, बैशाख ४
कोरोना भाइरसको महामारी जारी रहँदै गर्दा प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसले निम्त्याउने खतराबारे प्रश्नहरूको सामना गरेका छन्। ट्रम्पले भने ‘देशलाई बन्द राखिरहँदा समेत मानिसहरूको ज्यान गइरहेको’ बताए।

राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर ‘उनीहरूले उपयुक्त ठानेका बेला’ प्रतिबन्धहरू खुलाउने प्रक्रिया सुरु गरिने बताए।

अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै रहनुपर्ने परिस्थितिले त्यहाँ अहिलेसम्मकै उच्च सङ्ख्यामा बेरोजगारहरू बढेका छन्।

राज्यका गभर्नरहरूसँग प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम सुचारू गर्ने समयका विषयमा ट्रम्पको गम्भीर मतभेद पाइन्छ। तर बिहीवार ट्रम्प प्रशासनले कतिपय राज्यहरू खुलाउनेबारे नयाँ निर्देशिका जारी गर्ने जनाएको छ जसलाई राष्ट्रपतिले ‘त्यो निकै रोमाञ्चक’ हुने बताएका छन्।

राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य निकै चिन्ताको बिषय भएको र आत्महत्या सम्बन्धी हटलाइन सेवाहरू थामिनसक्नु भएको बताए। आम्दानी ठप्प भएका बेला अहिले लागु पदार्थ दुर्व्यसनी समेत अझ ठूलो समस्याको रूपमा देखा परेको उनले बताए।

अमेरिकाले अहिलेसम्म झण्डै ३३ लाख कोभिड-१९ को जाँच गरेको जनाएको छ जुन त्यहाँको कुल जनसङ्ख्याको झण्डै १ प्रतिसत हो। तर बुधवार लगातार दोस्रो दिन हालसम्मकै उच्च सङ्ख्यामा अमेरिकामा भाइरसबाट मृत्यु हुनेहरू पाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रम्पले चाहीँ अमेरिकाले नयाँ कोरोनाभाइरसको उत्कर्ष पार गरिसकेको बताएका छन्। अमेरिकी राज्यहरू आफ्नो अर्थतन्त्र सूचारू गर्न बलियो अवस्थामा रहेको समेत उनले बताए। बुधवार नै यस भाइरसको सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या विश्वभर २० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको थियो।

नियमित पत्रकार सम्मेलनकै मौका छोपेर ट्रम्पले पुन: विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओबारे आफ्नो रोष पोखेका छन्। उनले चीनसँगको सीमा बन्द गर्ने आफ्नो निर्णयको सुरुमा डब्ल्यूएचओले आलोचना गरेको बताए। ‘दुर्भाग्यवस अझैपनि कतिपय देशहरूले डब्ल्यूएचओमाथि विश्वास गरिरहेका छन् र उक्त सङ्गठनमाथि कुनै प्रकारका प्रतिबन्ध लगाएका छैनन्,’ ट्रम्पले भने। ट्रम्पले ती देशहरूले गम्भीर गल्ती गरेको भन्दै ‘त्यो सायद उनीहरूले बोध गरिसकेको’ बताए।

मध्य अमेरिकी मुलुक ग्वाटेमालामाअमेरिकाले देश निकाला गरिदिएपछि स्वदेश फर्केका मानिसमा कोरोभाइरस देखिएपछि चिन्ता बढेको छ। ग्वाटेमालाका स्वास्थ्यमन्त्रीले हालै अमेरिकाबाट निस्कासित हुनेमध्येको एउटा समूहका झण्डै ७५ प्रतिसतमा भाइरस पाइएको बताएका थिए।

त्यससँगै रोमन क्याथोलिक गिर्जाघरले उक्त प्रक्रिया हाललाई रोक्न आग्रह गरेको थियो। ग्वाटेमालासँगै एल सल्भाडोर, होन्डुरस र मेक्सिकोले आफ्नो स्वास्थ्य प्रणालीको सीमितता देखाउँदै अमेरिकालाई उक्त प्रक्रिया बन्द गर्न आग्रह गरेका छन्। तर गत शुक्रवार ट्रम्पले देश निकाला गरिएकाहरूलाई नलिने देशले प्रतिबन्धहरूको सामना गर्ने एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। बीबीसी

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्