तातोपानी नाकामा स्थानीयको अवरोध


 


सिन्धुपाल्चोक, बैशाख ४
कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएको बेला चीन जोड्ने उत्तरी नाका तातोपानी खोलिएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । अत्यावश्यक सामग्रीभन्दा अन्य सामग्री ल्याउन खोजिएको आरोप लगाउँदै स्थानीयले बुधबार सीमाक्षेत्रमा आन्दोलन गरेका हुन् ।

मंगलबार मितेरी पुलमा नेपाल र चीनका प्रशासन, भन्सारदेखि अधिकारी सुरक्षाकर्मीबीच भएको छलफलले खाद्यान्न, स्वास्थ्य सामग्री आयात, २० जनालाई मात्रै सवारी पास दिने निर्णय भएको थियो। जनप्रतिनिधिलाई खबर नै नदिई गरिएको छलफलपछि संशकित बनेका स्थानीय आन्दोलनमा उत्रिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए। ‘कोरोना संक्रमणबीच नाकाबाट लसुन, फलफूल ल्याउने कुरा गरिएकाले स्थानीय रुष्ट छन्, प्रशासनले यसबारे गरेको निर्णयबारे हामीसँग प्रश्न सोधिरहेका छन्,’ प्रमुख पौडेलले भने।

चीनबाट आवश्यक परीक्षण सकेर १९ बाक्सा माक्स र १० बाक्सा सेनिटाइजर नेपाल भित्राउँदै तातोपानी नाका खोलिएको थियो। विश्व स्वास्थ्य संगठनअर्न्तगतको मापदण्ड बमोजिमको हेल्प डेस्कको मेडिकल सेटको तयारी सकेर आवश्यक मेडिकल सामग्री मात्रै ल्याउने निर्णयमा जनप्रतिनिधिले गरेका थिए।‘तातोपानीबाट अत्यावश्यक सामान आयात हुनुपर्ने हो, यसमा जनप्रतिनिधिको भूमिकाबारे उहाँहरुले सोच्नुभएन्,’ उनलेभने।

मंगलबार चीनको न्यालमका प्रमुख जिल्ला अधिकारी फिङ ल्यवी, नाका अधिकारी पुबु किरेन, न्यालम कस्टमका चिफ अफिसर छिङ गङ, न्यालम भन्सारका प्रमुख अधिकृत सेन च्वानेगाइङ्गसहित ७ प्रहरी अधिकारीले नेपालका प्रशासन र प्रहरीका प्रतिनिधिसँग छलफल गरेको थियो।

नेपालतर्फका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल,भन्सार अधिकृतदेखि सुरक्षाकर्मी सामेल भएपनि जनप्रतिनिधिलाई छिर्न समेत नदिइएपछि सीमाक्षेत्रका जनप्रतिनिधि रुष्ट बनेका छन्। कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्