र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएलगत्तै दुई वडा प्रहरीकाे घेरामा


 


सप्तरी, बैशाख ३
र्‍यापिड डाइनोष्टिक टेष्टमा दुई जनामा कोरोना पोजेटिभ पाइएपछि सप्तरीका २ वडामा सिलबन्दी गरी व्यापक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ। जिल्लाका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठी र खडक नगरपालिका वडा नम्बर ११ जाजरलाई शिलबन्दी गरी अधिकांश बाटाेमा सुरक्षाकर्मी परिचालन गरिएकाे जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।

भारतको दिल्ली मरकजबाट फर्केका ७ जनाको मंगलवार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र्‍यापिड डाइनोष्टिक टेष्ट गर्दा दुई जनामा कोरोना पोजेटिभ पाईएको थियो । कोरोना पोजिटिभ पाइएका दुबै जनाको स्थायी ठेगाना त्यही रहेकोले जिल्ला सुरक्षा समितिको बैठकले शिलबन्दी गर्ने निर्णय गरेको हो । ती वडामा शिलबन्दी गरेलगत्तै ब्यापक सुरक्षा सतर्कता बढाइएको छ । नतिजा पोजेटिभ देखिएका दुवै जनाको सम्पर्कमा आएका व्यक्तिहरुको समेत खोजी थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

यता, मंगलबार राती नै सातै जनाको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि धरानस्थित बिपी कोइरला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिएका छन् ।

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्