सनसिटी अपार्टमेन्टका दुई सय ९८ जनाको कोरोना परीक्षण रिपोर्ट यस्ताे आयाे


 


काठमाडौं, बैशाख ३
कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ दुई सय ९८ जनामा ¥यापिड टेस्ट (आरडीटी) गरिएको छ । अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य समस्या भएकाहरूकाे परीक्षण गरिएकाे हाे । परीक्षण गराएका ती दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ समेत आएको छ। र्‍यापिड डाइग्नोस्टिक टेष्टमार्फत बुधबार परीक्षण गराएका तीन सय जनाको रिपोर्ट नेगेटिभ आएको कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए।

बुधबार बिहानदेखि स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी महाशाखाबाट डा. अमृत पोखरेल, महेन्द्र अधिकारी र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा १५ जना स्वास्थ्यकर्मीको टोलीले सनसिटी अपार्टमेन्टको ब्लक (ए) मा रहेकाको कोरोना परीक्षण गरेको थियो।

मंगलबार सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण सुरु भएको हो। स्वास्थ्य मन्त्रालयको १५ जनाको टोलीले आरडीटी प्रविधिमार्फत परीक्षण गरेको हो। बुधबार तीनवटा टेबुलबाट परीक्षण भएको हो। मंगलबार एक ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो।

नगरपालिकाले अपार्टमेन्ट आसपासका क्षेत्रमा कडाइ गरेको छ। कोरोना जोखिम बढेपछि उक्त क्षेत्रमा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ। वडाले एक सूचना जारी गर्दै खाद्यान्न, तरकारी र डेरी पसल बिहान ४ बजेदेखि ८ बजेसम्म मात्र संचालन गर्न अनुरोध गरेको छ। मासु पसल, मदिरा पसल, घुम्ती ठेलागाडा, फुटपाथ अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने वडा कार्यालयले जनाएको छ।

नगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि नगरबासीलाई अनुरोध गरेको छ। पासबिना सवारी चलाएको पाएमा कारबाही हुने नगर प्रमुख थापाले बताए। परीक्षणसँगै अपार्टमेन्टमा सरसफाइको काम भइरहेको छ। नगरपालिकाले गाडीबाट क्लोरिन छर्कने काम भइरहेको नगरप्रमुख थापाले जानकारी दिए। मेयर थापाका अनुसार अन्यको परीक्षण बिहीबार हुनेछ।

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्