अमेरिकाद्वारा डब्लुएचओलाई दिने सहयोग रोक्ने घाेषणा


 


काठमाडौं, बैशाख ३
अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणमा डब्लूएचओले न्यूनतम दायित्व पूरा गर्न विफल भएको आरोप लगाउँदै सहयोग रोक्नेबारे आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका हुन् ।

चीनमा कोरोना भाइरस देखिएपछि त्यसको संक्रमणसम्बन्धी विषयलाई डब्लूएचओले सही ढंगले व्यवस्थापन गर्न नसकेको र घटनालाई ढाकछोप गरेको उनको आरोप छ ।

‘कोरोना भाइरस संक्रमण फैलने विषयलाई एकदमै नराम्रो ढंगले व्यवस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले बताए। उनले डब्लूएचओलाई जबाफदेही बनाउनुपर्नेमा समेत जोड दिएका छन् । यसअघि उनले डब्लूएचओ चीनमुखी भएको आरोप लगाएका थिए।

डब्लूएचओलाई अमेरिकाले सबैभन्दा धेरै आर्थिक सहायता उपलब्ध गराउँछ । गत वर्ष उसले ४० करोड डलर सहयोग दिएको थियो, जुन डब्लूएचओको कुल बजेटको १५ प्रतिशत रकम हो ।

अमेरिका कोभिड–१९ प्रकोपका कारण सबैभन्दा प्रभावित राष्ट्र हो । बुधबार बिहानसम्म अमेरिकामा कोभिड–१९ का कारण २५ हजार ७ सय ५७ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख ५ हजार १ सय ९३ जना संक्रमित पुष्टि भइसकेका छन् ।

अमेरिकामा भाइरस नियन्त्रण र रोकथाममा उचित कदम चाल्न नसकेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना भइरहेको छ । उनी भने डब्लूएचओप्रति आक्रोश पोखिरहेका छन्। भाइरससँग जुध्न लिइएका नीतिको आलोचना भइरहे पनि आफ्नो प्रशासनले चालेका कदमको आक्रोशपूर्ण तरिकाले ट्रम्पले बचाउ गर्दै आइरहेका छन् । आजको कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्