चिनियाँ किटले परीक्षणमा अन्याैल : कतै पाेजेटिभ, कतै नगेटिभ !


 


काठमाडौं, बैशाख २
चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस(काेभिड-१९) काे परीक्षणमा चिनियाँ र्‍यापिड किटका कारण अन्याैलता छाएकाे छ।

चीनबाट ओम्नी समूहमार्फत सरकारले खरिद गरेकाे स्वास्थ्य सामग्रीकाे गुणस्तर अहिले सम्म कतैबाट प्रमाणित भएकाे छैन। त्यसकारण यसले शत प्रतिशत सही नतिजा दिन्छ भन्न गाह्राे भइरहेकाे स्वास्थ्य क्षेत्रका जानकारहरू बताउछन्।

बाग्लुङमा आइतबार गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजिटिभ नतिजा आएको ६५ वर्षीय एक महिलाको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको नतिजा आएको छ। र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ आए पनि पीसीआरको पुन: परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिएका थिए ।

त्यस्तै साेही र्‍यापिड टेष्टमा नतिजा नेगेटिभ आएकाे कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भने पुष्टि भएको छ । क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि ती महिलालाई २८ चैतमा घर पठाइयो। तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएकाे छ।

कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो । यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसरी चिनियाँ र्‍यापिड किटले पाेजेटिभलाइ नगेटिभ र नगेटिभलाइ पाेजेटिभ देखाउँदा परीक्षणमा अन्याैलता छाउनुका साथै त्यसकाे गुणस्तरमाथि पनि प्रश्न चिन्ह खडा भएकाे छ। पछिल्लाे समय स्पेन, अष्टेलिया लगायत युराेपका अधिकांश देशले चिनियाँ र्‍यापिड किटले शत प्रतिशत सही नतिजा नदेखाएकाे भन्दै खरिद गरिएकाे सामान नै फिर्ता पठाएकाे थियाे।

साेही क्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले स्वास्थ्य मन्त्रालयले हालै गरेको स्वास्थ्य सामग्री खरिद प्रकरण र त्यस क्रममा आयातीत सामानको गुणस्तर छानबिन गर्न माग गरेको छ ।

टीआई नेपालले आइतबार विज्ञप्ति जारी गरी विवादास्पद खरिद प्रक्रियामा संलग्न राजनीतिक तथा प्रशासनिक पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न प्रधानमन्त्री केपी ओली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । स्वास्थ्य सामग्री गुणस्तरहीन पाइएमा प्रयोग नगरी सम्बन्धित मुलुकमै फर्काउन समेत माग गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले बिना प्रतिस्पर्धा सोझै ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा दिएको थियो । महँगोमा स्वास्थ्य सामाग्री खरिद गरेकोमा आलोचना भएपछि सरकारले ओम्नी समूहसागको खरिद सम्झौता रद्द गरेको थियो । त्यसपछि मन्त्रिपरिषदले जीटुजीमार्फत स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ ।

टीआई नेपालले विज्ञप्तिमा सार्वजनिक खरिद गर्दा स्वस्थ प्रतिपर्धा हुनुपर्ने कानुनी व्यवस्था भए पनि कहिले नीतिगत निर्णय त, कहिले जी टु जी खरिदका नाममा पटकपटक विचौलियासँगको मिलेमतोमा राज्यकोषको ठूलो रकम अपचलन गर्दै आएकामा सरकारको आलोचना गरेको छ ।

‘राष्ट्रिय संकटका बेला रचिएको स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार प्रकरणमा संलग्न राजनीतिक नेतृत्व तहसमेतका सबै पदाधिकारीमाथि आवश्यक अनुसन्धान गरी निर्मम कारबाही गर्न प्रधानमन्त्री र अख्तियारसाग टीआई नेपाल जोडदार माग गर्दछ’ टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीद्वारा जारी विज्ञप्तिमा छ ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्