‘सनसीटी अपार्टमेन्टमा सन्नाटा छ, टेलिफोन मार्फत एकले अर्कालाई हौसला दिँदै’


 


काठमाडौं, बैशाख २
सनसीटी अपार्टमेन्टमा रहेका २ जना कोरोना संक्रमित रहेको पुष्टी भएपछि अरु वासिन्दा ‘प्यानिक’को अवस्थामा पुगेका छन्। नेपाली कांग्रेसका नेता रमेश रिजालले अरु वासिन्दा ‘प्यानिक’को अवस्थामा पुगेपनि आफूहरु ‘मोरल बुस्ट’मा लागेको बताए।

सहि ढंगले परामर्श नहुने हो भने वासिन्दामा मानसिक प्रभाव पर्नसक्ने अगुवाहरुको बुझाइ पछि सामाजिक दुरी कायम गरि ‘मोरल बुस्ट’ गर्ने काममा आफूहरु लागेको रिजालले बताए। यसबीचमा टेलिफोन गरि एकले अर्कालाई हौसला दिने काम शुरु भइसकेको उनले बताए।

प्रसासनले सिलवन्दी गरेपछि हिजोबाट आजसम्म खासै केहि काम नभएपनि परिक्षणको रिपोर्ट आएपछि अब काम हुने रिजालले आशा व्यक्त गरे। रिजालले भने, ‘अपार्टमेन्ट सिल भएपछि त्यहाँ सेनिटाइज गर्नुपर्नेदेखि अपार्टमेन्टमा रहेकाहरु दैनिक अत्यावश्यक आवश्यकताका बस्तुहरु आपूर्ती कसरी हुन्छ भनेर स्थानियहरु चिन्तित देखिएका छन्। औषधी उपभोग गर्नेहरु कसरी आफूहरुले औषधी पाउँछौ भनेर सोधिरहेका छन् ।‘

विरामीको टाभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ पनि गर्न उनले माग गरे। उनीहरु विरामी भएको बेला वयोधा अस्पतालबाट स्वास्थ्यकर्मी पनि आएर परिक्षण गरेको कुरा सोसाईटीमा चर्चा चलेको जनाउँदै यो सबैलाई गम्भिरतापूर्वक हेरिनुपर्ने रिजालले बताए।

कागेश्वरी मनोहरा ९ मा रहेको एपार्टमेन्टमा रहेका करिब १५ सय जनामा अहिले डरको मनोविज्ञान देखिन्छ। अपार्टमेन्ट परिसर दायाँवायाँका दुई सय मिटरसम्मका घरहरुमा झ्याल ढोका समेत खोलेको नदेखिएको जनाउँदै रिजालले यो टोलतिरै एक किसिमको सन्नाटाको अवस्था रहेको बताए। बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो । उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्