सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी


 


काठमाडाैँ, बैशाख २
काठमाडाैँको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी हिजै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए ।

धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न हिजो साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ ।” उहाँका अनुसार उनलाई घरमा छुट्टै तरिकाले बस्न लगाइएको छ ।

कोरोना भाइरस देखिएका आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ । कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा ती तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो । उनीहरुलाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको छ । उक्त अपार्टमेन्टमा सोमबार नै ‘सिल’ गरिएको छ । पाँचवटा सनसिटी टावरमा करिव ५०० परिवारको क्षमता रहेको फ्ल्याट छन् ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्