सनसिटी अपार्टमेन्टमा यी हाइ प्रोफाइल ब्यक्ति बस्छन्!


 


काठमाडौं, बैशाख २
काठमाडौंस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको तीनजनाको एक परिवारमा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको छ ।

उक्त अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ ।“त्यहाँभित्र पाँचवटा टावर छन्, एउटा टावरमा सयवटा परिवार फ्ल्याट छन्,” स्रोतले भन्यो, “अहिले भित्र कति परिवार छन् भन्ने एकिन छैन । हाइप्रोफाइलका व्यक्तिहरु बस्दै आएको सनसीटीमा कतिपय परिवार बाहिर गइसकेको हुन सक्छ ।” अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन ।

अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ । अब त्यहाँ बस्दै आएका सबैलाई वाहिर भित्र गर्न नदिइ उनीहरुको दैनिक अत्यावश्यक बस्तु समेत प्रशासनले पुर्‍याउने प्रवन्ध गरिने तयारी छ । यसका लागि स्थानिय नगरपालिकासँग समन्वय गरिने बताइएको छ ।

काठमाडौं को सनसीटीमा अर्थमन्त्री युवराज खतिवडाको छोरा तिलक खतिवडा समेत रहँदै आएका थिए। ५ सय परिवार रहँदै आएको सो अपार्टमेन्टमा अहिले कति परिवार बस्दै आएको एकिन जानकारी नरहेपनि केहि हाइप्रोफाइल व्यक्तिहरु भने रहँदै आएका थिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको पनि सोहि अपार्टमेन्टमा फ्ल्याट रहेको छ। राष्ट्रिय सभामा विपक्षी दलका नेता राधेश्याम अधिकारीको पनि सनसीटीमा फ्ल्याट रहेको छ। तर उनको त्यहाँ बसोबास भने नरहेको बताइएको छ।

एमालेका नेता भीम न्यौपाने, संविधानसभा सदस्य विसेन्द्र पासवान लगायतका व्यक्तिहरु पनि त्यहाँ रहँदै आएका थिए। काठमाडौंमा एकैपटक ३ जना एउटै परिवारका व्यक्ति संक्रमित फेला परेको यो पहिलो घटना हो।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा पोजेटिभ भेटिएका एकै परिवारका ३ जना गत चैत ५ गते बेलायतबाट नेपाल आएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरी थापाले जानकारी दिएका छन् । नेपाल आएर उनीहरु होम क्वारेन्टाइनमा रहेको समेत थापाले जानकारी दिए ।

उनी भन्छन् स्वाब टेष्टको लागी अहिले तीनैजनालाई पाटन अस्पतालमा लगिएको छ र स्वाब टेष्ट पछि मात्र कोरोना पोजेटिभ हो वा होइन भनेर आधिकारीक रुपमा मात्र पुष्टि हुनेछ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो ।उनले भने “परिवारका तीनजनालाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको छ ।”

डाक्टर समिरमणी दिक्षित भने टेकुमा गरिने थप नमुना परीक्षणले उनीहरुको नतिजा पत्ता नलगाउने सम्भावना देख्छन् । एक ट्विट गर्दै दिक्षित लेख्छन् “एक महिना अघिको संक्रमण र्यापिड टेस्टद्वारा पहिचान भयो । भाइरल संक्रमण पार भइसकेको हुने सम्भावना बलियो । पिसिआरले समाउला जस्तो लागेन ।”

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्