काेराेनाकाे कहर: ५ हजार ६ सय ९१ नमूना परीक्षण, आइसोलेसनमा १ सय ३ जना


 


काठमाडाैँ, बैशाख १
सोमबारसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ५ हजार ६ सय ९१ नमूना परीक्षण गरिएको छ। पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जसमध्ये १४ जनाको कोरोना संक्रमण पुष्टि भएको बताए। तीमध्ये एक जना निको भएर फर्किसकेका छन्।

२४ घन्टामा नयाँ ५ सय १९ नमूना परीक्षण भएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ४ सय ३२ र नयाँ ४ सय ११ वटा रहेका छन्। त्यसैगरी जनस्वास्थ्य प्रयोगशाला बाहिर १२ सय ५९ मध्ये नयाँ १०८ वटा नमूना परीक्षण भएका छन्।

प्रत्येक प्रदेशमा आरडीटी प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ। ५२ जिल्लाबाट आरडीटी प्रविधिबाट परीक्षण सुरु भएको छ। सोमबारसम्म यो प्रविधिबाट परीक्षण गरिएका ५ हजार २ सय ९१ नमूना छन्। पीसीर प्रविधि र आरडीटी परीक्षणबाट १० हजार ९ सय ८२ वटा परीक्षण भइसकेको छ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७ हजार १ सय ६६ जना छन्। आइसोलेसन वार्डमा १०३ जना छन्।जसमध्ये उपत्यकामा ९ र उपत्यका बाहिर ९४ जना छन्। सोमबारसम्म २१९ जना रेड जोनमा परेका छन्। कोभिड संक्रमित र सम्भावितहरु र अन्य बिरामीको उपचारमा कसरी र कुन कुन अस्पतालले सेवा दिनेबारे निर्देशिक जारी गरेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।

देवकोटाका अनुसार पर्साको विभिन्न मस्जिदमा रहेका २८ जनाको कोरोना परीक्षण सम्पन्न भएको छ। पर्सा जिल्लाका छपकैया टोलमा ५९ जनाको र्‍यापिड किटबाट परीक्षण गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ। त्यहाँको क्वारेन्टाइनमा रहेकाको र्‍यापिड किटबाट परीक्षण सुरु गरिको छ। कोरोना संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्