काेराेना संक्रमित भारतीयकाे नामसहित ट्राभल हिस्ट्रीकाे खुलासा


 


पर्सा, बैशाख १
वीरगन्जमा ३ भारतीयमा कोरोना संक्रमण भेटिएपछि नगरबासीमा सन्त्रास छाएको छ । नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ भारतीय मुस्लिम धर्म प्रचारकमा कोरोना संक्रमण भएको पुष्टि आइतबार भएको थियो ।

यो खबर सार्वजनिक भएसँगै त्रासमा परेका नगरबासी अब भने लकडाउको पूर्ण पालनका लागि आफै सक्रिय भएका छन् । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि नै लकडाउन गरिएपनि वीरगन्जमा त्यसलाई अटेर गर्दै स्थानीय सडकमा निस्किने गरेका थिए ।

लकडाउनमा घर बाहिर ननिस्किन प्रहरीले टोल टोलमा गस्ती र माइकिङ गर्दै आएपनि सडकमा पैदल यात्रु , मोटरसाइकल र साइकल चालकको चहल पहल हुने गर्दथ्यो । तर, आइतबार ३ जना संक्रमीत भेटिएको खबर बाहिर आएसँगै वीरगन्जका सडक र टोल सुनसान भएको छ। लकडाउनमा निश्चित समयका लागि खुल्दै आएका तरकारी र किरानाका पसल पनि सोमबारदेखि भने स्थानीय प्रशासनले अर्को सूचना नआएसम्मका लागि बन्द गराइ दिएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार ३ जना संक्रमीत भारतीयको ट्राभल हिस्ट्री सम्बन्धमा प्राप्त विवरण अनुसार उनीहरु डिसेम्बर १८ तारिख (पुष २ गते ) नेपाल प्रवेश गरेको र सुनसरी, सप्तरीहुँदै पर्साका विभिन्न स्थानका मस्जिदमा गएर सहभागी भएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।

डिसेम्बर १८ र १९ ( पुष २ र ३ गते ) मोरङको बिराटनगर र त्यसपछि पुस ५ गतेदेखि १५ गतेसम्म उनीहरु सुनसरीकै दुहबीमा बसेका थिए । पुष १६ देखि २९ गतेसम्म सुनसरीको इनर्वामा, फागुन २ देखि ६ गते सम्म सप्तरीको धार्मिक भेलामा र फागुन ७ गते वीरगन्ज प्रवेश गरेका थिए । चैत ६ गतेसम्म वीरगन्जको सुगौलीस्थित मस्जिदमा बसेका उनीहरु चैत ७ गते मात्रै वीरगन्जको छपकैयास्थित मस्जिदमा आएर बसिरहेका थिए। तर प्राप्त यो विवरणको सत्यताका बारेमा अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।

नारायणी अस्पतालको आइशोलेशनमा राखिएका कोरोना संक्रमीत ती भारतीयको नाम र ठेगाना पनि खुलेको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार संक्रमीत मध्ये २ जना नयाँ दिल्ली र एक जना उत्तर प्रदेशका हुन् । नइ दिल्ली घर भएका ४५ वर्षीय महम्मद युसुफ र ३७ वर्षीय नूर महम्मद तथा उत्तर प्रदेशका ५५ वर्षीय महम्मद इब्राहिम हुन् ।

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्