अवैध प्रवेश रोक्न सीमामा सशस्त्र प्रहरी परिचालन


 


काठमाडाैँ, बैशाख १
भारतसँग सीमा जोडिएको बैतडीका सीमाक्षेत्रमा आवागमनमा कडाइ गरिएको छ । लकडाउनका बेला महाकाली नदीबाट अवैधरूपमा नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न नाकामा सशस्त्र प्रहरी परिचालन गरी आवागमनमा कडाइ गरिएको हो । जिल्लाका विभिन्न १० भन्दा बढी नाका(घाट)मा सशस्त्र प्रहरी परिचालन गरिएको हो।

सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म बैतडीबाट सीमा क्षेत्रमा पाँच टोली परिचालन भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिनुुभयो । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न सीमा क्षेत्रमा ६३ जनाको टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।

शिवनाथको कुस्मतघाट र नागार्जुनघाट, पञ्चेश्वरको रोलघाट, हल्दुविनायक, धर्मघाट, विनायकघाट, रोडिदेवल र गिरेगडा र दशरथचन्द नगरपालिकाको बारोकोट र तिरखडेनीमा गरी पाँच टोली परिचालन गरिएका छन् । लकडाउनमा सीमानाका बन्द भएपछि भारतबाट अवैधरूपमा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रको टोली परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुुभयो । अवैधरूपमा नेपाल भित्रिने क्रम रोक्न सीमामा अस्थायी चेक पोइन्ट स्थापना गरी उच्च सतर्कता अपनाइएको उहाँले बताउनुुभयो ।

सशस्त्र प्रहरी परिचालनले सीमानाकाको आवागमनमा कडाइ भएको छ । लकडाउनका बेला अवैधरूपमा भारतबाट आएका सुदूरपश्चिमका नागरिकमा कोरोना सङ्क्रमण देखा परेपछि सीमा क्षेत्रमा आवागमनमा कडाइ गरिएको हो । सीमा क्षेत्रका आवागमनमा कडाइ गर्न आवश्यकताअनुुसार थप सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्