सफाइ पाउनासाथ महराले लिए संसदबाट यस्ताे सुविधा


 


काठमाडौँ, बैशाख १
संघीय संसद सचिवालयले पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ ।

बलात्कार प्रयासको अभियोगबाट सफाइ पाएको केही समयपछि नै महराले सचिवालयबाट स्कर्पियो गाडी सुविधामा पाएर चढ्दै आएका छन् । उनले गाडीको मर्मतसम्भार खर्चसमेत सचिवालयबाट पाइरहेको जानकारी स्रोतले दिएको छ ।

संसद सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा परेका महरा काठमाडौं जिल्ला अदालतले फागुन ५ मा सफाइ दिएपछि रिहा भएका हुन् ।

सरकारले र संघीय संसद सचिवालयले ५ पूर्वसभामुख पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा सुविधा दिंदासमेत भेदभाव गरेको पाइएको छ ।

सरकारले पूर्वसभामुखद्वय सुवास नेम्वाङ र ओनसरी घर्तीलाई गाडी, चालक, १ सय ५० लिटर पेट्रोल र मर्मत खर्चसमेत नियमित रूपमा दिने गरेको छ । सचिवालयले मन्त्रिपरिषदको निर्णयबाट नेम्वाङ र घर्तीलाई गाडीलगायतको सुविधा दिइएको जानकारी सचिवालय स्रोतले दिएको छ । नम्वाङ र घर्तीलाई सुविधामा स्कर्पियो गाडी दिइएको छ ।

सचिवालयले मन्त्रिपरिषदको निर्णयबिना नै महरालाई गाडी सुविधा दिएको हो । सचिवालयले मन्त्रिपरिषदको निर्णयबिना नै पूर्वसभामुख रामचन्द्र पौडेललाई २०७३ सालदेखि गाडी सुविधा दिंँदै आएको छ ।

संघीय संसद सचिवालयले पूर्वसभामुखद्वय दमननाथ ढुंगाना र तारानाथ रानाभाटलाई भने पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा दिएको छैन । ढुंगाना र रानाभाटले गाडी सुविधा नमागेको र सरकारले समेत केही नभनेकाले गाडी सुविधा नदिइएको दाबी सचिवालय स्रोतले गरेको छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्