महिला भलिबलको बाटो
काठमाडौं, चैत ३०
भलिबल नेपालको राष्ट्रिय खेल । यही राष्ट्रिय खेल भलिबलका लागि वर्ष २०७६ उल्लेखनीय वर्षको रुपमा रह्यो ।
पहिलोपटक एभीसी एसियन सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सफल आयोजना, सेन्ट्रल जोनको साभरणसभा, महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक अन्तर्राष्ट्रिय स्वर्णपदक र सागमा रजतपदक ।
यसबाट पनि भलिबलको लागि उल्लेख्य वर्ष रहेको भन्न सकिन्छ । यति हुँदाहुँदै पनि वर्षको सुरुवातमा नेपाल भलिबल संघले निकै आलोचना खेप्नुपरेको थियो । त्यसअघि यसलाई पनि हामीले भुल्नुहुदैन । नेपालको राष्ट्रिय खेलमा अन्योलता रहेको अवस्थामा तत्कालिन नेपाल सरकारले २०७४ जेठमा भलिबललाई नेपालको राष्ट्रिय खेल रहेको घोषणा गरेको थियो । निश्क्रिय जस्तै रहेको अवस्थामा नेपाल भलिबल संघमा दान बहादुर तामाङको नेतृत्व आएपछि भलिबलले गति लिन थालेको थियो । त्यसमै हालका अध्यक्ष मनोरन्जनरमण शर्माले निरन्तरता दिने काम गरे ।
नेपाल भलिबल संघले गठन गरेको पाँच सदस्यीय खेलाडी छनोट समितिले जेठमा २५ सदस्यीय नेपाली भलिबल टोली तयार पार्दा नेपाल भलिबल संघ निकै आलोचित बन्न पुगेको थियो । एकैपटक नियमित कप्तान र उपकप्तानसहित केही स्टार खेलाडीहरुलाई बाहिर राख्दै टोली तयार पारेपछि संघले चर्को आलोचना खेप्नु परेको थियो ।
‘दुई महत्वपुर्ण प्रतियोगिता तर, सबै फ्रेस खेलाडी’ यस्तोमा खेलाडी छनोटको क्षमतामा प्रश्न उठ्नु स्वभाविक नै हो । तर, यही टोलीले लगातारको प्रशिक्षणले नेपाली महिला भलिबललाई माथिल्लो स्तरमा ल्याइदिए । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३३ वर्षपछि नेपाली महिला भलिबल टिमले ऐतिहासिक स्वर्णपदक जित्न सफल भएको थियो ।
कात्तिकमा बंगलादेशमा ५ राष्ट्र सम्मिलित प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा एक सेट पनि नगुमाई अपराजित रहँदै नेपालले ऐतिहासिक स्वर्ण जित्न सफल भएको थियो । यो नै नेपाली भलिबलको इतिहासमा सबैभन्दा ठुलो सफलता हो । फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
विसं २०४३ बाट सुरु भएको महिला भलिबल यात्राको झन्डै ३३ वर्षे यात्रामा नेपाली भलिबलले पाएको यो नै सबैभन्दा ठुलो सफलता हो । त्यतिबेला नेपाली टोलीले बैंककमा थाइल्यान्डसँग मैत्रीपुर्ण खेल खेलेको थियो । सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा पहिलो सहभागिता मै नेपाली टोलीले कांस्य जितेको थियो ।
सन् २००६ मा १०औं तथा २०१६ को १२औं सागमा पनि कांस्य जितेको थियो । २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको थियो । त्यसलगत्तै नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा पनि ऐतिहासिक रजतपदक जित्न सफल भएको थियो ।
साग खेलकुदको इतिहासमा कास्यपदक भन्दा अघि बढ्न नसकेको नेपाली महिला भलिबल टोली स्वर्णनजिक पुगेर पनि अन्तिममा चुक्दा रजतमा सीमित बन्न पुगेपनि नेपालले प्रतियोगिताभर मन जित्ने र उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले भारतलाई पहिलोपटक दुई सेट जितेर कीर्तिमान रच्यो ।
त्यसैले महिला भलिबल टोलीले नेपाली खेलकुदमा सम्भावना देखाएको छ । सेन्ट्रल जोनको सफलताले नेपाली भलिबल एसियाली स्तरमा प्रवेशको लागि ढोकासमेत खोलेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सागमात्र कुर्नुपर्ने स्थिति अन्त्य भएको छ । एसियन गेम्स र सेन्ट्रल एसियन गेममा वार्षिक रुपमा भाग लिने अवसर खुल्ने पक्का छ ।
प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार