तीन भारतीयमा कोरोना पुष्टि भएपछि मन्त्रालयले भन्याे- ‘कन्ट्रयाक ट्रेसिङ सुरु’


 


काठमाडौं, चैत्र ३०
तीन भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ। कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरुको अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हेटौंडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरुको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पुन परीक्षण गर्दा पोजेटिभ नै देखिएको स्वास्थ्य मन्त्रालयले फेसबुक पेजमार्फत् जानकारी गराएको हो।

पर्साको वीरगञ्ज महानगरपालिका-२ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्ये तीनमा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा ३७, ५५ र ४४ वर्षका पुरुष छन्। परीक्षणमा सहभागी गराइएका २१ जनामध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन: एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। प्रयोगशालामा पुनः परीक्षण गर्दा उनीहरुमा पोजिटिभ देखिएको हो। मन्त्रालयले पोजेटिभ देखिएको सम्पर्कमा आएका र उनीहरूको पुगेको स्थानको पहिचान गरी कन्ट्रयाक ट्रेसिङ सुरु गरिएको जनाएको छ।

भारतको उत्तर प्रदेशका उनीहरु उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन्। उनीहरु केहीदिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ। स्थानीयका अनुसार उनीहरु ९/१० दिन पहिलादेखि वीरगन्ज–२ छपकैयाको मस्जिदमा बस्दै आएका थिए।

रुघा खोकी लागेको भन्दै मस्जिदमा रहेका २४ जनालाई बिहीबार एक स्थानीय नेताले वीरजन्गको नारायणी अस्पताल लिएर गएका थिए। ती मध्ये शंकास्पदको स्वाबको नमुना संकलन गरी हेडौंडा पठाइएकोमा त्यहाँ ३ जनाको पोजेटिभ रिपोर्ट देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिएका थिए। त्यसपछि पुन: निश्चित गर्ने काठमाडौं पठाएको थियो।

हेटौंडाको परीक्षण रिपोर्ट शंकास्पद आएपछि उनीहरुलाई प्रहरीले शुक्रबार साँझ मस्जिदबाट नियन्त्रणमा लिई नारायणी अस्पतालको आइसोलेसन राखेको थियो। संक्रमित बसेकै मस्जिदमा रहेका ११ जनालाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएर आइसोलेसनमा राखेको छ।

संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैँ नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए ।

‘लकडाउनको समयमा उहाँहरु मस्जिदमा आउनुभएको हो । त्यही बेला प्रहरीसँग समन्वय गरेर हामीले बेग्लै राखेका थियौँ’ मौलना असगरले भने ‘छुट्टै राखिएकोले उहाँहरुसँग धेरै कुराकानी पनि भएको छैन । घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल जानुभएको हो ।’

यसअघि नेपालमा ९ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो। एकजना निको भएर डिस्चार्ज भएका छन्। संक्रमित आठ जनामध्ये चारजना धनगढीस्थित सेती अस्पताल र अन्य चारमध्ये बागलुङमा दुई र टेकुमा दुईजनाको उपचार भइराखेको छ।

प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्