लकडाउनकाे समय थपिने निश्चित!, कहिले सम्म थपिएला?


 


काठमाडौँ, चैत्र ३०
मुख्यमन्त्रीहरूले कोभिड–१९ (कोरोना भाइरस) को नियन्त्रण र रोकथामका लागि लकडाउनको समयावधि बढाउन संघीय सरकारलाई सुझाव दिएका छन् । उनीहरूले कोरोनाको फैलावट बढ्न नदिन लकडाउनभन्दा अर्को विकल्प नरहेको भन्दै त्यसलाई खुकुलो बनाउने वा हटाउनेतर्फ नसोच्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट भिडियो कन्फरेन्समार्फत एकैसाथ सातवटै प्रदेशका मुख्यमन्त्रीसँग कोरोना नियन्त्रणका प्रयासबारे छलफल गरेका थिए । सोही छलफलमा मुख्यमन्त्रीहरूको सुझाव थियो, ‘लकडाउनलाई निरन्तरता र बाहिरी देशबाट हुने आवागमनलाई पूर्णरूपमा नियन्त्रण गर्नुपर्छ ।’

छलफल चार घण्टाभन्दा बढी चलेको थियो । सातवटै प्रदेशका मुख्यमन्त्रीले क्रमश: आ–आफ्नो प्रदेशमा कोरोना नियन्त्रण र रोकथामका लागि चालेका कदम, देखिएका समस्या र चुनौतीबारे ब्रिफिङ गरेका थिए । साथै, स्वास्थ्यको सुरक्षा, उपकरण, ल्याबसहितका सामग्री अभावबारे मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै तत्काल त्यसको व्यवस्थान गर्न माग गरेका थिए ।

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले लकडाउनकै कारण स्थिति नियन्त्रणमा रहेकाले त्यसलाई लम्ब्याउनुको विकल्प नरहेको बताए । लकडाउनको अवधि बढाउने विषयमा सबै मुख्यमन्त्रीको एकै खालको सुझाव आएको उनले जानकारी दिए । कोरोना संक्रमित व्यक्तिको संख्या नेपालमा थोरै रहे पनि लकडाउन हटाउनासाथ मानिसको आवतजावत बढ्ने भएकाले संक्रमण अनियन्त्रित हुने आशंका मुख्यमन्त्रीहरूले गरेका थिए । भारतमा दिनदिनै संक्रमितको संख्या बढ्दै जानु चुनौतीको विषय रहेको बैठकमा चर्चा भएको थियो ।

नेपालमा ९ जनामा मात्रै कोरोनाको संक्रमण देखिए पनि भारतमा संक्रमितको संख्या ७ हजार नाघिसकेको छ । त्यहाँ दिनदिनै त्यो संख्या थपिँदै गएको छ । ‘भारतसँगको खुला सीमा हाम्रा लागि जोखिमपूर्ण छ,’ मुख्यमन्त्री राईले भने, ‘सीमाक्षेत्रको आवतजावतमा कडाइ गर्न आग्रह गरेका छौं ।’ खुला सीमाको फाइदा उठाउँदै अझै पनि भारतबाट लुकीछिपी मानिस आउने गरेको विषयलाई कडाइ गर्न प्रदेशको आग्रह थियो । पारि र वारि रहेका मानिसलाई त्यही स्थानमा थप समय क्वारेन्टाइनमा राख्नुपर्ने सुझाव मुख्यमन्त्रीहरूले दिएका छन् ।

लकडाउनलाई खुकुलो बनाएर आन्तरिक ओहोरदोहोर पनि बढाउन नहुनेतर्फ उनीहरूले ध्यानाकर्षण गराएका थिए । दुई दिनअगाडि काठमाडौंबाट मानिसलाई बाहिर पठाउन संघीय सरकारले थालेको तयारी प्रदेशकै विरोधपछि रोकिएको थियो । आन्तरिक रूपमा ठूलो संख्यामा मानिसको आवतजावत खोल्नु घातक हुने राईले उल्लेख गरे । उनले सबैतिर ‘म्यासिभ’ रूपमा व्यक्ति–व्यक्तिमा कोरोनाको परीक्षण गरिनुपर्ने बताए । ढिला नगरी एकैसाथ हजारौं हजार व्यक्तिको परीक्षणतर्फ कदम चालिनुपर्ने उनीहरूको भनाइ थियो ।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको फैलावट हुन नदिने अचुक अस्त्र नै ‘लकडाउन’ रहेकाले त्यसलाई निरन्तरता दिन, सीमामा थप कडाइ गर्न र आन्तरिक आवतजावतलाई पनि नियन्त्रणमा राख्न सबैले सुझाव दिएको बताए । सरकारले ७/७ दिन गरेर तेस्रोपटक थप गरेको लकडाउनको अवधि वैशाख ३ गते सकिँदै छ । ‘लकडाउनको अवधि कति दिन थप्ने, त्यो संघीय सरकारको विषय भयो,’ उनले भने, ‘हामीले परिस्थितिको मूल्यांकन गरी सुझाव दिएका हौं ।’

प्रदेशमा रहेका अस्पताल, आइसोलेसन र क्वारेन्टाइनको अवस्थाबारे पनि मुख्यमन्त्रीहरूले ब्रिफिङ गरेका थिए । अस्पताललाई व्यवस्थित ढंगले सञ्चालन गर्न आवश्यक उपकरण नरहेको, खोज्दा पनि नभेटिएकाले परीक्षणका लागि पीसीआर मेसिन, भेन्टिलेटर, थर्मल गन, पीपीईलगायत सामग्रीको छिटोभन्दा छिटो व्यवस्थापन गर्न आग्रह गरिएको मुख्यमन्त्री राउतले बताए ।

प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा कडाइ गर्ने र वारिपारि आवतजावतलाई पूर्ण नियन्त्रणमा राख्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो छलफल भएको मुख्यमन्त्रीहरूलाई सुनाएका थिए । नेपाल–भारत सीमाबाट हुने आवतजावत पूर्णरूपमा नियन्त्रणमा राखिनेमा ओलीले मुख्यमन्त्रीहरूलाई आश्वस्त पारेका थिए । दुई पक्षीय सम्बन्ध र सल्लाहका आधारमा मात्रै सीमालाई खुकुलो बनाउने वा खोल्ने कुरा भारतीय समकक्षीसँग भएको सुनाउँदै उनले तत्काल त्यस्तो कुनै परिस्थिति नरहेको बताएका थिए । सीमा सिल हुँदा पनि अत्यावश्यक वस्तुहरूको आयात प्रभावित नहुने गरी व्यवस्था मिलाइने प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए । मुख्यमन्त्री राईका अनुसार प्रधानमन्त्रीले बजारमा खाद्यवस्तु, इन्धनलगायतका अत्यावश्यक सामग्री अभाव हुन नदिने बताएका छन् ।

प्रधानमन्त्रीले लकडाउनको अवधिमा अभाव र समस्याले ग्रसित हुने विपन्न तथा श्रमिक वर्गको ध्यान राख्न र उनीहरूलाई राहतको उचित व्यवस्थापन गर्नेतर्फ सक्रियताका साथ व्यवस्था मिलाउन मुख्यमन्त्रीहरूलाई आग्रह गरेका थिए । लकडाउन जनतालाई दु:ख दिन होइन, जीवनरक्षाका लागि गरिएको भन्दै उनले लकडाउनले गर्दा प्रभावित बनेका व्यक्तिहरू कोही पनि भोकै नपरून् भन्नेतर्फ सबैले प्राथमकितापूर्वक ध्यान दिनुपर्ने बताएका थिए ।

छलफलमा मुख्यमन्त्रीहरूले प्रदेशस्तरबाट गरिएका कामहरूको चर्चा गरेका थिए । प्रदेश र स्थानीय तहबाट भएका प्रयास र कामको प्रधानमन्त्री ओलीले सराहना गरेका थिए । छलफलमा उपस्थित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सबैको प्रयासले कोरोना नियन्त्रणमा अहिलेसम्म सफलता प्राप्त भएकाले त्यसमा कुनै प्रकारको हेलचेक्रयाइँ कुनै पनि तहबाट नगर्न र हुन नदिन प्रधानमन्त्रीले आग्रह गरेको बताए ।

विश्वका शक्तिराष्ट्रहरू र छिमेकी भारतमा समेत धेरै प्रयासका बावजुद जटिलता बढ्दै गएकोतर्फ इंगित गर्दै प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भने, ‘हामी सामूहिक प्रयासले सफल भइरहेका छौं, त्यसमा ढंग पुगेन भने जे पनि हुन सक्छ । सबैको उत्तिकै सजगता आवश्यक छ ।’ उनले सीमापारि रहेका नेपालीलाई तत्कालै भित्र्याउन नसकिने पनि उल्लेख गरेका थिए । उनले मानव सभ्यतामाथि नै संकट आइरहेका बेला भावनात्मक भएर मात्रै निर्णय लिन नसकिने उल्लेख गरे । ‘कतिले सीमामा रहेका नेपालीलाई तत्काल ल्याइहालौं भन्नुहुन्छ, त्यो संवेदनशीलता सरकारले नबुझेको होइन तर उहाँहरूलाई ल्याउने नाममा भारतमा रहेका अरू लाखौं नेपाली आउन खोजे भने कसरी सम्हाल्ने ?’ ओलीले भने, ‘उता रहेका व्यक्तिहरूको व्यवस्थापनका लागि भारत सरकारसँग निरन्तर कुरा भइरहेको छ ।’

केही व्यक्तिका लागि सीमा खोल्दा त्यो नाममा आउन सक्ने ठूलो संख्याको व्यवस्थापन र उनीहरूको परीक्षण चुनौतीपूर्ण हुने प्रधानमन्त्रीको भनाइ थियो । ‘अहिलेसम्म राम्रो म्यानेज भएको छ, केही दिन अझै धैर्य गरौं,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेम्वाङले कान्तिपुरलाई बताए । देश भित्रको र बाहिर मुख्यत: भारतको परिस्थिति हेरेर लकडाउनका सन्दर्भमा सरकारले निर्णय लिने प्रधानमन्त्रीले उल्लेख गरेका थिए । उनले स्वास्थ्य सामग्री खरिदका लागि तीव्र गतिमा प्रक्रिया अगाडि बढिसकेकाले केही दिनभित्रै प्रदेशहरूमा अवश्यकता पहिचान गरी सामग्री पठाउने प्रतिबद्धता व्यक्त गरे । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्