कोरोनाका कारण ट्रम्पका साथीको निधन


 


एजेन्सी, चैत्र ३०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको स्टानली चेराको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले शनिबार चेराको निधन भएको संक्रमण पुष्टि गरेका हुन्।

न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षका चेरा न्युयोर्ककै अस्पतालमा उपचार गराइरहेका थिए। ट्रम्पले ह्वाइट हाउस ब्रिफिङ्गको क्रममा बारम्बार आफ्ना एक साथीलाई कोरोना भाइरसको संक्रमण भएको र त्यसले समस्या उत्पन्न भएको बताउने गरेका थिए।

अमेरिका अन्तत: कोरोना भाइरस संक्रमणका सबै अप्रिय कीर्तिमान आफ्नो पक्षमा पारेर वर्चस्व कायम गर्न सफल भएको छ। पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्