तीन भारतीयलाई कोरोना संक्रमणको आशंकापछि आइसोलेसनमा राखियो


 


वीरगन्‍ज, चैत्र २९
कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभको आशंकापछि वीरगन्ज महानगरपालिका-२, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीयलाई शुक्रबार दिउँसोदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ।

बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए। चिकित्सकले उनीहरुको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौंडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा पठाएका थिए। २४ जना मध्ये ३ जनाको रिर्पोट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको हो। हेटौंडाको कोरोना परिक्षण ल्याबले शंकास्पद देखिएका ३ जनाको रिर्पोट कन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको नारायणी अस्पतालका चिकित्सकले जनाएका छन्।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिहीबार स्वाब संकलन गरेर पठाइएको २४ जनामध्येको तीनजना अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताए। ‘हेटौंडाको ल्याबमा गरिएको परीक्षण शंकास्पद आएको भन्ने सुनिएपछि वडा अध्यक्षसँगको समन्वयमा ३ जनालाई यहाँ बोलाइएको हो,’ मेसु डा. उपाध्यायले भने, ‘शनिबार दिउँसोसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फाइनल रिर्पोट आएपछि कन्फर्म हुन्छ।’

स्थानीयका अनुसार विगत ९/१० दिन अगाडिमात्र यी धार्मिक गुरुहरु मस्जिदमा आएका थिए। बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए। नाम उल्लेख नगर्ने शर्तमा नारायणी अस्पतालका एक चिकित्सक भन्छन्, ‘उनीहरुले दिएको सूचना सहि नहुन् पनि सक्छ, प्रहरीले अनुसन्धान गर्न जरुरी छ।’
तीनजनालाई आइसोलेसनमा राखेदेखि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सर्तकता अप्नाएका छन्।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्