३४ करोड ९१ लाख रुपैयाँको स्वास्थ्य सामग्री आयात
काठमाडौं, चैत २९
सरकारले कोरोना भाइरस महामारी रोकथामका लागि एक महिनामा ३४ करोड ९१ लाख रुपैयाँको स्वास्थ्य सामग्री आयात गरेको छ ।
मास्क, सेनिटाइजर, भाइरस संक्रमण परीक्षण गर्ने किट, स्वस्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री तथा भेन्टिलेटर आयात भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।
भन्सारको प्रणालीमा चैत एक गतेदेखि २६ गतेसम्म रहेको रेकर्डअनुसार कोभिड र्यापिड टेष्ट किट, फेस सेइल्ड, गगल्स, मास्क, पीसीआर टेष्ट कीट, पीपीई, सेनिटाइजर, थर्मोमिटर, भेन्टिलेटर र भाइरल ट्रान्सपोर्ट मिडिया भीटीएम आयात भएका छन् ।
यी स्वास्थ्य सामग्री खरिदका लागि ३४ करोड ९१ लाख सात हजार दुई सय ६३ रुपैयाँ खर्च भएको विभागले जनाएको छ ।
यस अवधिमा एक लाख थान कोभिड र्यापिड टेष्ट किट नेपालमा आयात भएको छ । उक्त सामग्रीको भन्सार मूल्य नौ करोड ४४ लाख ४४ हजार तीन सय ८४ रुपैयाँ रहेको छ ।
तीन हजार ९९ थान फेस सिल्डको चार लाख ९१ हजार दुई सय ६० रुपैयाँ परेको छ भने १७ लाख २६ हजार छ सय दुई रुपैयाँ बराबरको नौ हजार चार सय ६६ थान गगल्स ल्याइएको छ।
विभागकाअनुसार यो अवधिमा ४५ लाख थान मास्क नेपाल भित्रिएको छ । आयात भएको मास्कको मूल्य पाँच करोड ५९ लाख ७ हजार १८० रूपैयाँ रहेको छ । पीसीआर टेष्ट किट ४१ हजार थान भित्रिएको छ यसका लागि १५ करोड २६ लाख ६६ हजार चार सय ४९ रुपैयाँ तिरिएको छ ।
प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार