सांसद विकास कोष आवश्यक छैन, यसको रकम कोभिड-१९ कोषमा राखौं : नारायणकाजी


 



काठमाडौं, चैत २९
सत्तारुढ दल नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम कोरोना राहत कोषमा राख्नुपर्ने बताएका छन् । सांसद विकास कोष आवश्यक नरहेको तर्क गर्दै उनले यो रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्छ गर्नुपर्ने बताएका छन् ।

उक्त कोषको रकम कोरोना राहत कोषमा राख्न आवश्यक रहेको बहस चलिरहेको बेला उनले सामाजिक संजाल ट्वीटरमार्फत सन्देश जारी गर्दै नेता श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद बिकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ,’ श्रेष्ठले लेखेका छन्, ‘अहिले कोभिड-१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम ९ज्यादै कम मात्र खर्च भएको होला (कोभिड-१९) कोषमा राखौं र अबदेखि यो शीर्षकमा बजेट नराखौं । यो सही छ। निर्णय गरिहालौं ।’

प्रवक्ता श्रेष्ठले नेकपा अध्यक्ष प्रचण्डले राखेको सर्वदलीय संयन्त्रको प्रस्तावलाई सामान्य समर्थन समेत गरेका छन् । ‘वर्तमान राष्ट्रिय संकटको सन्दर्भमा प्रमुख विपक्षी दललगायत सबै राजनीतिक सामाजिक शक्तिहरुसँग सरकारले समन्वय गर्नु आवश्यक छ,’ उनले भनेका छन्, ‘त्यसैले उच्चस्तरीय समन्वय समितिले यस्तो बैठकको आयोजना गरेको पनि थियो । यसलाई नियमितता दिनु उपयुक्त हुन्छ, सुझाव लिन र निर्णयहरुको औपचारिक जानाकारी लिन ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्