अमेरिकामा काेराेनाकाे कहर: एकैदिन २ हजार ४३ को मृत्यु, संक्रमितको संख्या ५ लाख नाघ्यो


 


एजेन्सी, चैत्र २९
अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४३ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १८ हजार ७ सय २५ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमित भेटिएका छन् । यससँगै हालसम्म कूल संक्रमितको संख्या ५ लाख २ हजार ३ सय १८ पुगेको छ ।

संक्रमितमध्ये १० हजार ९ सय १७ जनाको स्थिती निकै गम्भीर छ भने २७ हजार ३ सय १४ जना संक्रमित निको भएका छन् ।पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्