डब्लुएचओको चेतावनी: लकडाउन हटाउनु खतरनाक


 


काठमाडौँ, चैत्र २९
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनबाट सुरू भइ विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न गरिएको लकडाउन हटाउनु खतरनाक रहेको चेतावनी दिएको छ ।

हाल विश्वभर कोरोना संक्रमण फैलिरहेकाले लकडाउन हटाउन हतार गरेमा संक्रमित र मृतकको संख्या तीव्र रुपमा वृद्धि हुने डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेसले जनाएका छन् । ‘हामी संसारभरका सरकारसँग लकडाउनका समय कम गर्ने रणनीतिमा काम गरिरहेका छौं । तर यसमा हतार गर्नु राम्रो होइन । हतारमा लकडाउन हटाइयो भने संसारमा मृत्यु हुनेको संख्यामा अझै तीव्र रुपमा बढ्न सक्छ ’ टेड्रोसले भने ।

विश्वभर कोरोना संक्रमितको संख्या १६ लाख ९७ हजार ८०२ पुगेको छ भने एक लाख २ हजार ६९३ जनाको मृत्यु भइसकेको छ । लकडाउन हटाउनअघि सबै मुलुकले सतर्कता अपनाउनुपर्ने टेड्रोसले बताए। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेका स्पेन र इटली दुवैले लकडाउनको अवधि थप गरेका छन् ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्