एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने पक्राउ


 


चितवन, चैत्र २९
एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरिएको हो ।

नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट नाइट्राजेपाम १८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसारमा संलग्न विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा उक्त लागुऔषधको माग गर्ने अञ्जन तिमिल्सिनालाई समेत पक्राउ गरिएको उनले बताए । निज विनोद रानामगर र प्रवीन घर्तीले चैत २४ गते नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए । बिरामी लिई बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतपुर आँखा अस्पताल अगाडि बोलाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विनोद रानामगर बिरामी भएको बहानामा बर्दघाट गएको, बर्दघाट पुगेपछि चालक एम्बुलेन्समा नै बसेको र अन्य दुई जना झरी गएकामा केही समयमा आई यहाँबाट बिरामी लैजान नपर्ने भयो, हामीहरु फर्कौं भनेपछि एम्बुलेन्स फर्कने क्रममा पक्राउ परेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । रासस

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्