नेपाल र भारतका प्रधानमन्त्रीबीच आ-आफ्ना नागरिकको सुरक्षाबारे चासो


 


काठमाडौं, चैत्र २९
‘लकडाउन’का कारण एकअर्का मुलुकका नागरिकको हेरचाह गर्ने प्रतिबद्धता नेपाल-भारतले व्यक्त गरेको छन्। लकडाउनका कारण दुवै मुलुकमा रोकिएका आ-आफ्ना नागरिकलाई रोकिएकै मुलुकको सरकारले रेखदेख गर्ने सहमति दुई मुलुकका प्रधानमन्त्रीबीच भएको छ।

शुक्रबार मध्याह्नको टेलिफोन वार्तामा उनीहरूले कोरोना भाइरसविरुद्ध एकअर्कामा सहकार्य गरेर आआफ्नो मुलुकले अख्तियार गरेको नीतिमा सहयोगी भूमिका खेल्ने सहमति गरेका छन्।

दुई नेताबीच नेपाल र भारतको सीमामा हजारौं नेपाली आफ्नो मुलुक फर्केका तर उनीहरूलाई सीमामै क्वारेन्टाइनमा राखिएको लगायत विषयमा छलफल केन्द्रित थियो। प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा कोरोनाविरुद्ध लड्न सहकार्य आवश्यक रहेको विषयमा अधिक जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै प्रधानमन्त्रीले आफ्ना नागरिकबारे अधिक चिन्ता व्यक्त गरेका थिए।

विशेषगरी नेपाल-भारतबीच खुला सीमा रहनुका साथै दुवै मुलुकका जनताको नातागोता यता र उता हुने हुनाले यस्ता विषयमा समेत ध्यान दिएर सीमामा कसरी सहजीकरण गर्ने विषय पनि छलफल भएको थियो। ‘आज मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग टेलिफोन संवाद गरेँ। कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एकअर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,’ ओलीले आफ्नो ट्विटमा लेखेका छन्, ‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो। भारत सरकारले उपलब्ध गराउने औषधिलगायत सहयोगका लागि मैले धन्यवाद दिएँ।’

लकडाउन गर्नुअघि नै ओली-मोदीबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबीच सहकार्य हुनेगरी छलफल भएको थियो। नेपाल सार्कको अध्यक्ष राष्ट्र भए पनि भारतीय प्रधानमन्त्री मोदीले सार्कमा कोरोनाविरुद्ध सहकार्यको प्रस्ताव राखेकाले त्यो बैठक उनलाई नेतृत्व गर्न दिइएको थियो। सहकार्य अगाडि बढ्ने भनिए पनि सार्कस्तरीय सहकार्य नभई दुईपक्षीय सहकार्यतर्फ त्यो सहमति उन्मुख भएको छ।

उक्त भिडियो कन्फरेन्समा भएका सहमतिलाई कसरी अघि बढाउने भन्ने विषय दुई प्रधानमन्त्रीबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ओली-मोदीबीच करिब १० मिनेट भएको उक्त टेलिफोन वार्तामा भाइरस विरुद्धको सहकार्यलाई थप सशक्त बनाउने विषयमै बढी छलफल भयो, कन्फरेन्स कलमा एकअर्का मुलुकबीच सहकार्य मजबुत बनाउनेबारे छलफल भएको थियो। ‘कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भएका छौं, भारतीय प्रधानमन्त्री मोदीले ट्विटमा लेखेका छन्, ‘कोभिड विरुद्धको लडाइँमा नेपालको साथमा भारत पनि सँगै रहेको र हामी सबै मिलेर यस्तो महामारीविरुद्ध लड्नुपर्छ।’

ओलीले राखेको धारणाप्रति भारतीय प्रधानमन्त्री मोदीले सहमति जनाएको र नेपालले भारतसँग राखेको कोभिड विरुद्धका मेडिकल सामग्री खरिदको प्रस्तावबारे पनि छलफल भएको थियो। उनले औषधिलगायत उपकरण उपलब्ध हुने धारणा व्यक्त गरेका थिए।

भारत सरकारले उपलब्ध गराउने उक्त औषधिलगायत सहयोगका लागि प्रधानमन्त्री ओलीले मोदीलाई धन्यवाद दिएका थिए। नेपालमा आवश्यक पर्ने अधिक खाद्यान्न भारतबाटै आउने हुनाले त्यहाँबाट हुने आपूर्ति व्यवस्थामा निरन्तर कायम राख्न त्यहाँ सहज वातावरण बनाउने विषयमा दुवै मुलुकका सीमामा रहने कर्मचारीलाई निर्देशन दिने सहमति पनि भएको छ।

यसका साथै नेपाल-भारतबीच रहेका अन्य सहकार्य, भारतीय सहयोगमा निर्माणाधीन परियोजना, कोभिड-१९ पछिको विश्व राजनीति र नेपाल-भारत सम्बन्धलगायत विविध आयाममा पनि छलफल भएको थियो। दुवै मुलुकले एकअर्काबाट कसरी अधिकतम फाइदा लिने र सहकार्य बढाउने भन्नेमा पनि छलफल भएको थियो। अन्नपुर्ण पाेष्टबाट

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्