कोरोनाले विश्वभर मृतकको संख्या १ लाख नाघ्यो, कुन देशकाे कति?


 


एजेन्सी । चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ । शुक्रबार साँझसम्मको तथ्याँकअनुसार विश्वभर भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख १ हजार ५ सय २६ पुगेको छ । त्यस्तै संक्रमित हुनेहरुको संख्या १६ लाख ७५ हजार ७ सय ६७ पुगेको छ । शुक्रबार सबैभन्दा बढी अमेरिकामा १ हजार ३ सय १८ जनाको ज्यान गएको छ भने योे सहित त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार ९ पुगेको छ । त्यहाँ संक्रमित हुनेहरुको संख्या ४ लाख ८८ हजार ९ सय ८० पुगेको छ । त्यस्तै शुक्रबार फ्रान्समा ९ सय ८७ जनाको मृत्यु भएको छ भने बेलायतमा ९ सय ८० जनाको मृत्यु भएको छ ।

फ्रान्समा योसहित मृत्यु हुनेको संख्या १३ हजार १ सय ९७ पुगेको छ भने बेलायतमा ८ हजार ९ सय ५८ पुगेको छ । फ्रान्समा कूल संक्रमितको संख्या १ लाख २४ हजार ८ सय ६९ जना पुगेको छ भने बेलायतमा ७३ हजार ७ सय ५८ जना पुगेको छ । त्यस्तै इटालीमा एकैदिन ५ सय ७० जनाको मृत्यु भएको छ ।

योसहित त्यहाँ मर्नेको संख्या १८ हजार ८ सय ४९ पुगेको छ । त्यहाँ कूल संक्रमित संख्या १ लाख ४७ हजार ५ सय ७७ रहेको छ । शुक्रबार अमेरिका र इटालीमा मृत्यु हुनेहरुको कूल संख्या बराबरीको हाराहारीमा पुगेको छ । अमेरिकामा संक्रमितहरुको तिब्रता बढिरहेकोले केही घण्टामै इटालीको रेकर्ड ब्रेक गर्ने सम्भावना देखिएको छ । संक्रमित हुनेहरुको कूल संख्यामा भने अमेरिका केही हप्ता यता सबैभन्दा अघि नै रहेको छ ।

त्यस्तै, स्पेनमा चौबिस घण्टामा ५ सय २३ जनाको मृत्यु भएको छ भने योसहित त्यहाँ मृत्यु हुनेको संख्या १५ हजार ९ सय ७० पुगेको छ । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ५७ हजार ५३ पुगेको छ । यता, युरोपकै अर्को मुलुक बेल्जियममा पनि मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । बेल्जियममा २४ घण्टामा ४ सय ९६ जनाको मृत्यु भएको छ भने योसहित त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ । संक्रमितहरुको संख्या त्यहाँ २६ हजार ६ सय ६७ रहेको तथ्याँक संकलक साइट वल्ड्रो मिटरले जानकारी दिएको छ । अहिलेसम्म विश्वका २ सय १० देशमा संक्रमण फैलिइसकेको छ ।

पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्