लकडाउनमा गृहमन्त्री : शंकास्पद बिरामी ल्याउने जिम्मा गृहको, फिल्डमा खटियो सेना
काठमाडौं, चैत २९
गत ९ चैतमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको एउटा निर्णय थियो । शंकास्पद बिरामीलाई अस्पताल पुर्याउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्यासेन्ट रिसिभिङ टिम (पिआरटी) गठन गरेको थियो ।
यसका लागि हरेक जिल्लामा प्रहरीलाई तालिम दिएर जिम्मेवारीमा खटाउने जिम्मेवारी गृहमन्त्रीले स्वीकार गरेका थिए । तर, आफैँ सहभागी भएको समितिले दिएको जिम्मेवारी गृहमन्त्रीले कार्यान्वयन गराएका छैनन् ।
बेल्जियमबाट फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलामा संक्रमण भेटिएको रिपोर्ट २० चैतमा आयो । तर, बिरामीलाई अस्पताल लैजाने जिम्मेवारी कसको भन्नेमा सरकारी निकायबीच नै अन्योल देखियो । जब कि उच्चस्तरीय समितिको म्यान्डेटअनुसार सो काम प्रहरी–प्रशासनको थियो ।
सिडिओ र प्रहरी पनि बिरामीको घरसम्म पुगेका थिए । तर गृहले स्पष्ट दिशानिर्देश नगरेकाले सिडिओ र प्रहरी बिरामी नलिई फर्किए । पछि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख आफैले महिलालाई अस्पताल पुर्याएका थिए ।
काठमाडौं सामाखुसीको आशीर्वाद वृद्धाश्रममा बस्दै आएकी सरस्वती भुजेल गत १७ चैतमा बेहोस भइन् । वृद्धाश्रमले अस्पताल लैजान प्रहरीलाई खबर गरयो, गाडीसहित आश्रम पुगेको प्रहरीले बिरामीलाई छुन मानेन । सामाखुसीस्थित आश्रमबाट महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्याउन तीन घन्टा ढिलो हुँदा बिरामीको मृत्यु भयो ।
‘लकडाउन अवधिमा कसैलाई पनि नछुनु भन्ने माथिको आदेश छ, त्यसैले हाम्रा प्रहरीले बिरामी छोएनन्,’ सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौरले नयाँ पत्रिकासँग त्यतिवेलै भनेका थिए । हो, प्रहरीको सुरक्षा पनि महत्वपूर्ण छ, तर फिल्डमा खटिने प्रहरीलाई आवश्यक साधन–स्रोत उपलब्ध गराउन गृह प्रशासनको कुनै पहल छैन ।
यी घटनामा उच्चस्तरीय समन्वय समितिमा गृह प्रशासनको आलोचना मात्र भएन, पिआरटीको नेतृत्व प्रहरीबाट खोसेर नेपाली सेनालाई दिने निर्णय गरियो । समितिको २३ चैतको बैठकपछि पिआरटीको जिम्मेवारी सेनाले पूरा गर्दै आएको छ जब कि केन्द्रमा अहिले पनि गृहमन्त्री नै यो जिम्मेवारीमा छन् । नयाँ पत्रिका
प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार