मध्यरातमा १० एसएसपी डीआईजीमा बढुवा सिफारिस


 


काठमाडौं, चैत्र २९
गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ। मन्त्रीपरिषदले डीआईजीको अनावश्यक दरबन्दी संख्या कटौती गर्दै १४ मा झारेपछि रिक्त १० पदमा गृहले राती अबेर बढुवा सिफारिस गरेको हो।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एसएसपीबाट डीआईजी बढुवामा वरियता मात्र नभई कार्यक्षमता मूल्यांकनलाई प्रमुख आधार बनाएर बढुवा सिफारिस गरेको हो। गृहसचिव न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्यसचिव थिए । डीआईजीको लागि ३४ एसएसपी प्रतिस्पर्धामा थिए।

सुची अनुसार एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, बसन्त पन्त, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, उत्तम सुबेदी, रबिन्द्र धानुक र अरुण विसी डीआईजी बढुवामा सिफारिस भएका छन्।

अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) , विशेष ब्यूरो, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक/एक गरि जम्मा १४ डीआईजी दरबन्दी रहनेछन्।

हाल प्रहरीमा कार्यरत चार डीआईजीमध्ये निरजबहादुर शाही सीआईबी, प्रध्युम्न कार्की दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, सुर्यप्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय नक्साल र बिश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्