दक्षिण अफ्रिकामा लकडाउन दुई साता लम्बियो


 


प्रिटोरिया, चैत्र २८
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी बन्दाबन्दी (लकडाउन) लाई अरु दुई साता लम्ब्याउने बिहीबार घोषणा गरेका छन्।

यसअघि गत मार्च २७ मा शुरु भएको लकडाउन २१ दिनका लागि तय गरिएको थियो । अफ्रिकाका कुनै मुलुकमा जारी गरिएको यो सबैभन्दा कडा व्यवस्था रहेको बताइएको छ ।

अल जजिरा टेलिभिजनका अनुसार उपलब्ध प्रमाणमाथि विचार गरी राष्ट्रिय कोरोनाभाइरस कमान्ड परिषदले २१ दिनको अलावा थप दुई साता लकडाउन गर्न सिफारिस गरेको थियो । राष्ट्रपति रामाफोसाले अब अप्रिलको अन्त्यसम्म मुलुकमा लकडाउन जारी रहने बताए ।

उहाँले लकडाउनको पालना राम्रोसँग भइरहेको पनि दाबी गरे । “लकडाउन शुरु भएयता नयाँ कोरोना संक्रमित भेटिने दरमा व्यापक रुपमा कमी आएको छ । मार्चमा एक हजार १७० जनामा कोरोना देखिएकामा अहिले कोरोना संक्रमित पुष्टी भइसकेका व्यक्तिको संख्या एक हजार ९३४ रहेको छ । लकडाउन हुनुभन्दा दुई साताअघि नयाँ बिरामी भेटिने औसत दर ४२ प्रतिशत थियो । लकडाउन शुरु भएपछि भने औसत बृद्धिदर ४ प्रतिशत रहेको छ ।”

प्रकाशित मिति: २८ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्