कोरोनाको उपचारका लागि मलेरियाको औषधि प्रभावकारी


 


एजेन्सी, चैत्र २८
अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच)ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ ।

दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आउनु भएको छ समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरुलाई पहिलो दिन दिनको २ पटक ४ सय एमजीको क्लोरोक्विन दिइने छ । त्यसपछि २ देखि ५ दिनसम्म २ सय एमजी औषधि दिनको २ पटक (आठ डोज) दिइने छ ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिएका थिए । गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो । एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो । रासस

प्रकाशित मिति: २८ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्