कालोबजारी आरोपित सुलभ अग्रवालको अवैतनिक दूत पद खारेज


 


काठमाडौं, चैत्र २७
कोरोना भाइरसको महामारीका बेला मेडिकल उपकरणमा कालोबजारी गरेकाे आरोपमा पक्राउ परेका किर्गिस्तानका मानार्थ अवैतनिक दूत सुलभ अग्रवालको पद सरकारले खारेज गरेको छ । कूटनीतिक सुविधाको दुरुपयोग गर्दै ३५ सय बजार मूल्यको ज्वरो नाप्ने थर्मल गन १५ हजारमा विक्री गरेको आरोपमा मंगलबार पक्राउ परेका अग्रवालको पद सरकारले खारेज गरेको हो।

अग्रवालले किर्किस्तानको महाबाणिज्यदूतका रुपमा निलो प्लेटको गाडी प्रयोग गर्दैआएका थिए । उनले केही दिनअघि नेपाल वायुसेवा निगमको जहाज चार्टर गरी कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने इन्फारेड थर्मल गन र एन ९५ मास्क लगायतका मेडिकल सामग्री ल्याएका थिए । ती सामग्रीमध्ये इन्फारेड थर्मल गन ६० हजार पीस ल्याएका थिए ।

इन्फारेड थर्मल गनको बजारमूल्य ३ देखि ५ हजार रुपैयाँ पर्न आउँछ । त्यसमा जहाज भाडा जोड्दा ७ हजार रुपैयाँ हुनसक्छ । तर अग्रवालले १६ हजार रुपैयाँमा बिक्री गर्दैआएका थिए । उनले कूटनीतिक नियोगको नम्बर प्लेट भएको किर्गिस्तानको बाणिज्यदूतका गाडीमा राखेर थर्मल गन कालोबजारी गर्दै आएको खुलेको छ ।

अवैतनिक दूतले पटकपटक आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको घटना आउन थालेपछि सरकारले उपलब्ध गराउँदै आएको सबै कूटनीतिक सुविधा (निलो प्लेट, निर्वाद सिंहदरबार प्रवेश पास, झण्डाको उपयोग, एअरपोर्टको भीआईपी कक्षलगायत कूटनीतिक उन्मुक्ति) बुधबारदेखि खोसेको छ ।

कूटनीतिक उन्मुक्ति लिएर कालोबजारीमा समेत अवैतनिक दूतहरु सक्रिय हुन थालेपछिपरराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर औपचारिक कार्यक्रमको लागि उपलब्ध गराएको सुविधा अन्य समयमा पनि प्रयोग भएपछि सुविधा फिर्ता गरेको हो। मन्त्रालयले अर्को सूचना नआएसम्मको लागि उनको पद खारेज गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले ज्वरो नाप्ने यन्त्रको अभाव भइरहेका बेला त्यसमा कालोबजारी गर्ने अग्रवाललाई कारबाहीको प्रक्रिया अघि बढेपछि सरकारले यस्तो निर्णय लिएको हो। उनको बारेमा परराष्ट्रमन्त्रालयले सम्बन्धित मुलुकलाई समेत जानकारी गराएको छ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्