लकडाउन उल्लंघन गरेको आरोपमा ४ वडा अध्यक्षसहित ९ पक्राउ


 


काठमाडौं, चैत्र २७
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभडि–१९) को रोकथामका लागि सरकारले लकडाउन गरिरहको छ । लकडाउनका बेला आम सर्वसाधरणलाई घर बाहिर निस्कन बन्देज लगाइएको छ ।

यस्तो बेला लकडाउन उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा प्रहरीले बझाङ छविसपाथीभेरा गाउँपालिकाका ४ जना वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ ।

बुधबार साँझ पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा छविसपाथीभेरा २ का वडाध्यक्ष विकास अयडी, वडा नम्वर ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नं ४ का अध्यक्ष अमर थापा र वडा नम्वर ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नेत्र बोहराले जानकारी दिए ।

त्यसैगरी पक्राउ परेका अन्यमा बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समिति कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी, जयकृष्ण जोशी, बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंह रहेका छन् ।

उनीहरु सबैलाई पनि लकडाउन उल्लंघनको अभियोगमा पक्राउ गरिएको बोहराले बताए ।

पक्राउ परेका वडाध्यक्षहरुले बान्नी मेलामा मानिसहरुको उपस्थिति रोक्न गाउँपालिकाले प्रयास गर्दागर्दै पनि स्थानीयहरु स्वतस्स्फूर्त भेला भएको बताएका छन् ।

लकडाउन उल्लंघनको अभियोगमा छविसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिका रताला लगायत केही व्यक्तिको पनि खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको र लकडाउन उल्लंघनमा दोषी पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रजिअ पाण्डेको भनाइ छ ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्