कोरोना आशंकामा अस्पतालकाे लापरवाही, समयमा उपचार नहुँदा युवकको मृत्यु


 


वीरगं, चैत्र २६
चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे आशंका नेशनल मेडिकल कलेज वीरगंजले रेफर गरेको एक बिरामीको मृत्यु भएको छ। बारा महागढीमाई नगरपालिका ४ दहियारका १८ वर्षीय निरञ्जन सहनीको मृत्यु भएको हाे। उपचारको क्रममा वीरगंज हेल्थ केयर हस्पिटलमा सहनीको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।

वीरगंजबाट २० किलोमिटर पूर्वमा पर्ने दहियारबाट बुधवार बिहान ६ बजे सहनीलाई उपचारका लागि नेशनल मेडिकल कलेज ल्याइएको थियो। प्रारम्भिक स्वास्थ्य परीक्षणमा कोरोनासँग मिल्दोजुल्दो लक्षण पाइएपछि हेल्थ केयरमा रेफर गरिएको परिवारले बताएका छन्।

‘सहनीलाई ज्वरो, सुक्खा खोकी र दम फुल्ने समस्या थियो। एक्सरेमा निमोनिया देखिएपछि चिकित्सकले हेल्थ केयर अस्पताल वा काठमाडौँ लैजान सुझाव दिए,’ निरञ्जनका परिवारका एक सदस्यले भने।

तर अस्पतालका चिकित्सक कोरोनाको आशंकाभन्दा आइसियु खाली नभएका कारण रेफर गरिएको बताउँछन्। नेशनल मेडिकल कलेजले ५० बेड सम्मको कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड राखेको दाबी गर्दै आएता पनि सामान्य विरामीलाई पनि फर्काउँदै आएको सेवाग्राहीको गुनिसो छ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कोराना रोग रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समितिका संयोजक डा. मदनकुमार उपाध्यायले मृतकको स्वाब सङ्कलन गरी परीक्षणको लागि हेटौँडा पठाइएको र नतिजा आएपछि केही भन्न सकिने बताए। शव अहिले हेल्थ केयर अस्पतालमै छ। परीक्षण नतिजा नआएसम्म अस्पताल प्रशासनले आकस्मिक कक्ष सञ्चालन गर्न समेत रोक लगाएको छ।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्