सभामुखद्वारा लकडाउनकाे उल्लघंन, होटेल खोल्न लगाएर गरे भोजन


 


राजविराज, चैत्र २६
प्रदेश २ का सभामुख सरोज यादवसहितको टोलीले देशैभर जारी लकडाउनकाे उल्लघंन गरेका छन्। लकडाउनका बेला होटेल रेष्टुराहरु बन्द रहेपनि सभामुख यादवसहितको टोलीलाई होटेल खोलाएर भोजन गराइएको खबर बाहिर अाएकाे छ। प्रदेश २ को प्रवेशद्वार कोसी ब्यारेजस्थित होटेल होलिडे सभामुख यादवसहितको टोलीलाई भोजनका लागि बुधबार खोलाइएको हो ।

सभामुख यादवसहितको टोली बुधबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको व्यवस्थापनबारे छलफल गर्नुका साथै कारोना संक्रमणको रोकथामका लागि भइरहेका प्रयासबारे जानकारी लिएका थिए । टोलीलाई राजविराजमै खाना खान आग्रह गरिएको थियो । तर अर्कै ठाउँमा खाने भन्दै टोली राजविराजबाट २४ किलोमिटर पूर्व कोसी ब्यारेज गएका थिए ।
टोलीका सबैले खाना खाएपछि उनीहरु पश्चिम लागेको ड्युटीमा रहेका एक प्रहरीले बताए ।

सभामुख यादवसँगैको टोलीमा रहेका प्रदेश सभा सचिवालयका सचिव रन्जित यादवले सुरुमा कोसी ब्यारेजमा खाना नखाएको बताएपनि पछि अर्कै स्थानबाट खाना बनेर आएको र होटेलमा बसेको स्वीकार गरे ।

सभामुखको टोलीमा उनका अतिरिक्त समाजवादी पार्टीका प्रदेशसभा सदस्य कौसल यादव, प्रदेश सभाका सचिव रन्जीत यादव , अरुण झा लगायत प्रदेश सभाका अन्य कर्मचारीहरु थिए । यसैगरी, प्रदेश सभाकै सुरक्षाकर्मीहरुको टोलीले पनि खाना खाएका थिए ।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्